सामाजिक सञ्जालमाथि कडा निगरानी, उमेर हद तोकिंदै

सामाजिक सञ्जालमाथि कडा निगरानी, उमेर हद तोकिंदै

विश्वका सम्पन्न मुलुकमध्ये अग्रपंक्तिमा पर्छ, अष्ट्रेलिया । भौतिक पूर्वाधारमा मात्र होइन, सूचना-प्रविधिको क्षेत्रमा पनि अष्ट्रेलिया धेरै अगाडि छ । 

यसैबीच अष्ट्रेलियाले १६ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । सामाजिक सञ्जालको अत्याधिक प्रयोगले बालबालिकामा पारेको असरलाई मध्यनजर गर्दै त्यहाँको सरकारले फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता डिजिटल प्ल्याटफर्ममाथि प्रतिबन्ध लगाउने नीति ल्याउन लागेको हो । 

प्रधानमन्त्री एन्थोनी अल्बानीजले सामाजिक सञ्जालका कारण बालबालिकामा मानवीय संवेदना हराउँदै गएको कारण यस्तो नीति ल्याउन लागिएको बताएका छन् । उनका अनुसार यही महिना (नोभेम्बर)को अन्तिममा सरकारले सामाजिक सञ्जाल प्रयोगको उमेर सीमासम्बन्धी नयाँ कानुन संसदमा पेश गर्ने तयारी गरेको छ । 

कानुनको उल्लंघन गर्ने जो-कोहीलाई पनि कारवाही हुने प्रधानमन्त्रीको भनाई छ । उनले भनेका छन्, ‘कानुनअनुसार गाइडलाइन पालना नगरेमा प्रविधि कम्पनीहरुलाई कारवाही गरिने छ । यसको मतलब यो होइन कि अभिभावकलाई छुट दिइएको छ । यदि कुनै पनि बालबालिकाले सामाजिक सञ्जालको प्रयोग गरेको पाइएमा बाबु-आमालाई पनि जरिवाना गरिनेछ।’

प्रधानमन्त्री अल्बानीजले मनोरञ्जनका लागि सामाजिक सञ्जालमा पोस्ट गरिने कतिपय भिडिओले बालबालिकामा दिर्घकालीन असर गरेको पनि बताए । थप्दै भने, ‘कहिलेकाहीँ मेरो मोबाइलमा नचाहेको कन्टेन आउछ । मलाई हेर्न हिम्मत नै आउदैन । त्यो भिडिओले १२, १४ वर्षका बालबालिकामा कति असर गर्ला ? हामीले कहिल्यै सोचेका छौँ ? धेरै ढिला भइसकेको छ, अब चाडै कानुन लागू हुन्छ ।’
 

टिप्पणीहरू