बिजुली जोड्न दिइएको २४ घण्टे आदेशको म्याद सकिँदै
सरकारले बिजुली लाइन काटिएका उद्योगमा लाइन जोड्न नेपाल विद्युत् प्राधिकरणलाई दिएको २४ घण्टे निर्देशनको म्याद सकिन केही समय मात्रै बाँकी छ । आइतबार साँझ बसेको बैठकले उद्योगमा लाइन जोड्न २४ घण्टाको निर्देशनात्मक आदेश दिएको थियो ।
ऊर्जा मन्त्रालयमार्फत् पठाइएको पत्र प्राधिकरणमा आज दिउँसो १२ बजेको हाराहारीमा पुगेको बताइन्छ । बक्यौता भुक्तानी नगरेपछि कात्तिक ८ गते लाइन काटिएका २८ वटा उद्योगमा हालसम्म बिजुली नजोडिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसले जानकारी दिए ।
यता प्राधिकरण स्रोतले मन्त्रिपरिषद् बैठकको औपचारिक निर्णयसहितको पत्र पाएपछि पनि बोर्ड बैठक बसेर लाइन जोड्ने निर्णय गर्न सकिने बतायो । मन्त्रालयका अधिकारीहरुले त्यसअघि नै उद्योगमा लाइन जोड्न मौखिकरूपमा जानकारी दिएको बुझिएको छ ।
उद्योगमा विद्युत् आपूर्ति नहुँदा उत्पादन घटेको, राजस्व संकलन, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको सरकारको ठहर छ । त्यसका लागि उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था मिलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पुथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
मन्त्रीका अनुसार डेडिकेटेड र ट्रंकलाइन विवादमा १५ दिनभित्र उद्योगहरूले यसअघि खपत गरेको विद्युतको बक्यौता रकम बिलअनुसार तिर्नुपर्ने क्याबिनेटले निर्णय गरेको हो ।
टिप्पणीहरू