‘संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाऔँ’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलाई लिएर सांसदहरुले चर्को आलोचना गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले अख्तियार लाचार बन्दै भ्रष्टाचारीहरुको तमासा हेरिरहेको बताए ।
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार नियन्त्रण गर्ने भनिएको अख्तियार आफैं भ्रष्ट बन्दै गएको आरोप लगाएका छन् । उनले भने, ‘अख्तियार र भ्रष्टाचार पर्यायबाची बनेको छ ।’
पूर्वमन्त्रीसमेत रहेका केसीले अख्तियार प्रमुख छनोट गर्ने सवैधानिक परिषद्बाटै भ्रष्टाचारको थालनी हुने गरेको दाबी गरेका छन् । ‘अख्तियारसहितका संवैधानिक निकायका प्रमुख तथा पदाधिकरी नियुक्त गर्ने काम संवैधानिक परिषद्को हो, त्यहिँ भागबण्डा हुन्छ’, उनले भने, ‘संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाऔँ, अनि बल्ल निष्पक्ष कामको अपेक्षा गर्न सकिन्छ ।’
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले पनि अख्तियार कमजोर भएको बताए । यसलाई चुस्त र दुरुस्त बनाउन सातै प्रदेशमा शाखा कार्यालय खोल्न उनले सुझाव दिएका छन् । उनले भने, ‘यहाँ भ्रष्टाचार कहाँबाट शुरु हुन्छ ? भ्रष्टाचारी कसरी उम्कन्छन् ? हामीलाई थाहा छैन र ?’
त्यस्तै, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारमा मुछिएका कर्मचारीहरु नै अख्तियारमा सरुवा हुने गरेको बताए । पैसासँग जोडिएका सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान कार्यालय लगायत निकाय प्रधानमन्त्री कार्यालयकै माताहतमै हुने भएकाले प्रधानमन्त्री नै भ्रष्टाचारको अखडामा बस्ने गरेको उनको तर्क छ । अख्तियारलाई ‘पूर्व कर्मचारीहरुको क्लब’को संज्ञा दिदै भने, ‘भ्रष्टाचारको मुल जड प्रधानमन्त्री कार्यालय हो । अनि अख्तियार कसरी चोखो हुन्छ ? अख्तियार पनि भ्रष्टाचारको अखडा बनेको छ ।’
टिप्पणीहरू