तुलसीको विवाह दामोदरसँग गरिँदै

तुलसीको विवाह दामोदरसँग गरिँदै
सुन्नुहोस्

आज हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशी हो । आज विशेष पूजा आराधनासहित तुलसीको विवाह दामोदरसँग गरिँदैछ । आज कार्तिक शुक्ल एकादशीका दिन भएकाले हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । 

हिन्दु धर्मावलम्बीहरुले आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनीका दिनमा क्षीरसागरमा सुतेका विष्णु भगवान ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी मान्छन् ।

हरिशयनी एकादशीका दिन रोपिएको तुलसीलाई आजसम्म विशेष पूजा गरिन्छ । आज तुलसीको विवाह गर्ने हिन्दु धर्मको मान्यता छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालोको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिना तुलसी र विष्णु पूजामा विशेष महत्व राख्ने गर्छ ।

तुलसीलाई औषधीको रुपमा पनि लिइन्छ । यसको पात, डाँठ, फूलको रस रुघाखोकी, औलोलगायत रोग निको पार्न सहयोगी हुन्छ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसी महाऔषधि नै मानिन्छ ।

आजको दिन सखरखन्ड, पिँडालु, तरुल उसिनेर खाने चलन छ । आज काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायणमा विशेष मेला लाग्दछ । त्यसैगरी काठमाडौँको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास छ ।

टिप्पणीहरू