मन्त्री हटाउन तयार होलान् त प्रधानमन्त्री ?
संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेमाथि करोडौँ रकम घुस खाएर विवादित होटललाई क्यासिनो सञ्चालनको अनुमति दिएको आरोप लागेको छ ।
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ स्थित रोयल टाइगर प्यालेस क्रियशन प्रालिलाई क्यासिनो सञ्चालनको इजाजत पत्र दिन मन्त्री पाण्डेले घुस खाएको दावी गरेका हुन् । क्यासिनोका सञ्चालकले मन्त्री पाण्डेमार्फत एक नेताको घरमा पुगेर पैसा बुझाएको बजगाईंले बताएका छन् । तर,कुन नेताको घरमा कसले पैसा बुझाएको भन्ने खुलाएका छैनन् ।
क्यासिनोको इजाजत पत्र सार्वजनिक गर्दै उनले भनेका छन्,‘क्यासिनो सन्चालकले हामीलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे ।’ पत्रमा उल्लेख भएको मितिअनुसार गत साउन ११ गते अनुमति दिएको देखिन्छ ।
सरकारी जग्गा मिचेर भवन निर्माण गरेको भन्दै रोयल प्यालेस होटल पहिल्यैदेखि नै विवादमा छ । पारिश्रमिक नदिएर एकैचोटी सयौँ कर्मचारी हटाउँदा पनि होटल विवादमा परेको थियो । कर्मचारीले लामो समय आफ्नो पारिश्रमिक र पुनर्बहालीको माग राख्नै धर्नासमेत दिएका थिए ।
मन्त्री पाण्डे र महानिर्देशक अधिकारीले स्पोन्सर प्रचार गरेको आरोप
सांसद बजगाईँले भैरहवा विमानस्थलको प्रसंगमा आफूले दिएको अभिव्यक्तिलाई मन्त्री पाण्डे र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काटकुट् गरेर प्रचार गरेको पनि बताएका छन् ।
भैरहवा विमानस्थल सञ्चालनको लागि सरकारले पर्याप्त पूर्वतयारी नगरेको उनले बताएका थिए । तर, केही दिनअघि अस्वभाविक रुपले बढेको हवाई भाडाको सम्बन्धमा छलफल गर्न बसेको बैठकमा महानिर्देशक अधिकारीले भनेका थिए, ‘भैरहवामा किन विमानस्थल बनाएको ? त्यहाँ पूर्वतयारी नै छैन भन्नेहरुलाई बल्ल थाहा भयो होला किन बनाएको भनेर । अब काठमाडौँ विमानस्थलको विकल्पमा त्यसलाई प्रयोग नगरी सुख छैन ।’
मन्त्री पाण्डेले पनि भैरहवा विमानस्थलको गलत प्रचार नगर्न निर्देशन दिएका थिए ।
यता सांसद बजगाईँले भने मन्त्री पाण्डे र महानिर्देशक अधिकारीलाई लक्षित गर्दै भनेका छन्, ‘भैरहवा विमानस्थलको बारेमा मेरो विचार काटकुट गरेर प्रसारण गरी आँधीले नहल्लने यो राजेन्द्र बजगाई एक पाइला हल्लिदैन । मन्त्री पाण्डे र अधिकारीहरूले भैरहवा विमानस्थल कसरी चल्छ पूर्वतयारी भएन भन्ने मेरो विचारलाई भैरहवा विमानस्थल चल्दा राजेन्द्र बजगाईको विरोध भनेर स्पोन्सर प्रचार चलाएका रहेछन् ।’
स्मरण रहोस्, पर्यटन व्यवसायीसमेत रहेका सांसद बजगाईँले मंहगिएको हवाई भाडाको विरोधमा अस्ति माइतिघरमा एकल प्रदर्शन गरेका थिए । उनले पर्यटन प्रर्वद्धनको लागि आवाज उठाउँदै आएका छन् ।
टिप्पणीहरू