मनमोहनले व्यवस्थापन र अपराध कानुन पढाउने
मोरङको मनमोहन प्राविधिक विश्वविद्यालयले कानुन संकायमा नयाँ पाठ्यक्रम सञ्चालन गर्ने भएको छ ।
इन्जिनियरिङ्ग, अस्पताल व्यवस्थापन र फार्मेसीतर्फ दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको विश्वविद्यालयले मुलुकमै पहिलोपटक नयाँ पाठ्यक्रममा आधारित बिबिए एलएलएम र क्रिमिनल कानुनमा स्नातकोत्तर कक्षा सञ्चालन गर्न लागेको जनाइएको छ ।
कोशी प्रदेश सरकारले २०७६ असोजमा स्थापना गरेको मुलुककै पहिलो प्राविधिक विश्वविद्यालयले आगामी पुसदेखि उक्त विषयमा पढाइको तयारी थालेको छ । बिबिए एलएलबीका लागि ४५ कोटा छुट्याइएको छ । माघदेखि अपराध कानुनमा स्नातकोत्तरको सञ्चालन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले आफ्ना तीन वटा स्कुलमध्ये ‘एप्लाईड साइन्स टेक्नोलोजी एण्ड ल’ अन्तर्गत ‘मनमोहन ईन्स्टिच्युट अफ ल’ स्थापना गरेको छ । ती स्कुलबाट व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तरको पढाइ सञ्चालन गरिने विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए ।
प्रविधिमैत्री, व्यवहारिक र समय सान्दर्भिक कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर देशमै पहिलोपटक नमुना पाठ्यक्रम निर्माण गरेर कानुनमा पाँच वर्षे स्नातक र तीन वर्षे स्नातकोत्तर पढाइ गराउने तयारी पूरा भएको उनले बताए । ‘नयाँ पाठ्यक्रममा आधारित पढाइले दक्ष जनशक्ति मात्र उत्पादन गर्दैन, आत्मनिर्भर कानुन व्यवसायी पनि उत्पादन गर्छ । कानुन व्यवसायी आफैंले प्रविधिमा आधारित भएर देवानी र फौजदारी मुद्दाको अनुसन्धान गर्न सक्नेछन्’,उनले भने ।
विश्वविद्यालयका कानुनी सल्लाहकार तथा अधिवक्ता कोषराज न्यौपानेले मनमोहनमा कानुनमा स्नातक सकाउन साढे चार लाख तिरे पुग्ने बताए । त्यस्तै, छात्रवृत्रिको समेत पारदर्शी व्यवस्था गरिएको उनले जानकारी दिए । विश्वविद्यालयका रजिष्ट्रार डा.दिलनाथ फुँयालका अनुसार विश्वविद्यालयले कानुन विषयमा पिएचडी गराउने योजना लिएको छ ।
बुढीगंगा गाउँपालिका–४ मा रहेको विश्वविद्यालयमा तीन वटा स्कुल सञ्चालनमा छ । जसमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन एण्ड एप्लाइड हेल्थ साइन्ससेज र स्कल अफ एप्लाइड साइन्स एण्ड ल रहेको छ । आफ्नो १० वर्षे योजनाअनुसार विश्वविद्यालयले १५ विषयमा स्नातक तह, १२ वटामा स्नातकोत्तर र ६ वटामा विद्यावारिधी सञ्चालन गर्ने लक्ष्य लिएको छ । जसबाट हरेक वर्ष दुई हजार ३४३ विद्यार्थी लाभान्वित हुनेछन् ।
विश्वविद्यालयले अब छिट्टै प्राकृतिक चिकित्सा (न्याचुरोप्याथी) विषयको स्नातकोत्तर पढाइ पनि शुरु गर्नेछ । पाठ्यक्रम तयार भइसके पनि अस्पताल हस्तान्तरण नभएकोले पढाइ शुरु गर्न नसकिएको हो । अस्पताल भवनमा आँखा, ल्याबजाँच, नर्सिङ्गदेखि जनस्वास्थ्यलगायतका धेरै स्वास्थ्यका प्राविधिक विषयमा उच्च शिक्षा सञ्चालन हुन पाएको छैन ।
हाल अस्पताल व्यवस्थापनमा स्नातकोत्तर, औषधि विज्ञान (बिफर्मा) मा स्नातक, इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रोनक्स एण्ड ईलेक्ट्रिकल विषयमा पढाइ भइरहेको छ । विश्वविद्यालयको आफ्नै परीक्षा नियन्त्रण कार्यालय, सेवा आयोग, तालिम केन्द्र, अनुसन्धान केन्द्र, वकर्सप, आधुनिक विषयगत ल्याब र लाइब्रेरीसमेत छ ।
टिप्पणीहरू