सम्धी र ज्वाईंमा रुमल्लियो डिआइजी बढुवा
नेपाल प्रहरीमा रिक्त आठ डिआइजी बढुवाका लागि २६ जना प्रतिस्पर्धी छन् । यसमध्ये प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर हुनेवाला आफ्नै छोराका ससुरा तथा भावी सम्धीलगायतलाई बढुवा गराउनैपर्ने प्रचण्ड दवावमा छन् ।
पहिले केन्द्रीय अनुसन्धान ब्युरो र अहिले लागुऔषध नियन्त्रण ब्युरोमा रहेका एसएसपीलाई पनि बढुवा गराउनैपर्ने अर्को बाध्यता पनि छ । स्रोत भन्छ, ‘२६ जना सम्भावित उम्मेदवारमध्ये भोला रावल आइजी सापको हुनेवाला सम्धी परे । कान्छो छोराले भोलाकी छोरीसँग लभ गरेकाले चैतमा घर जानुअघि डिआइजी बनाएर सम्धीभेट गर्नैपर्यो ।’
यता दिनेश आचार्यको लागि पनि कुँवरले जोड गरेको गृह सचिव गोकर्णमुनि दवाडीले अनुमान गरेका छन् । २०५४ ब्याचका आचार्यलाई प्रहरी संगठनभित्र ‘मोस्ट करप्ट’ को आरोप लगाइन्छ । सिआइबीमा हुँदा विभिन्न काण्डमा मुछिएका उनी अहिले लागुऔषधमा छन् ।
महानिरीक्षक कुँवरले स्पष्ट रुपमा दुई जनालाई काँध हालेको देखिए पनि उनको लिष्टमा अर्का एकजना पनि थपिएको बताइन्छ । ती हुन् आफ्नै ब्याची ध्रुव राउत ।
यता कञ्चनपुरका भएकाले गृहमन्त्री रमेश लेखकले गणेश चन्दलाई बोक्नैपर्ने चटारो छ ।
भूतपूर्व महानिरीक्षक धिरजप्रताप सिंहका नातेदार सिद्धिविक्रम शाह पनि बढुवाको दह्रो दौडमा छन् । पहिले छुटेका उनलाई अहिले बूढानीलकण्ठको पनि भरोशा छ ।’
२४ घण्टेको उपमा पाएका शारदाप्रसाद चौधरी पनि प्रतिस्पर्धी हुन् । २०५५ सालका ब्याची उनलाई सँधै मातेर बस्ने भएकाले प्रहरी संगठनभित्रै २४ घण्टेको उपमा दिइएको हो । हेर्दै ज्यान ठूला देखिने सुरेन्द्र गुरुङ पनि यस पटकको बढुवा सूचीका २६ जनामध्ये एक हुन् ।
दरबन्दी कम,आकांक्षी बढी र आफू निकटस्थहरुको संख्या बढेपछि समाधानका लागि प्रहरी महानिरीक्षक र गृहमन्त्री दुबै जना दरबन्दी थपमा लागेको देखिन्छ । कम्तीमा तीन सिट बढाउन सकिए हाललाई समस्या समाधान हुने भएकाले सोहीबमोजिमका लागि प्रस्ताव गरिएको दरबन्दी क्याबिनेटले हालसम्म स्वीकृत गरेको छैन ।
केही समयअघि महानिरीक्षक कुँवरले सम्भावित उम्मेदवारको सूचीमा रहेकामध्ये १२ नम्बरभन्दा पछाडि नजाने अडान लिएका थिए । सिरियल नम्बर १२ भित्रका उम्मेदवारबीच बढुवा गर्ने उनको भनाईको भित्री रहस्य पनि चाखलाग्दो देखिन्छ । ‘१२ को मार्जिन किन होला ?’ भनेर सोधिएको जिज्ञासामा एकजना एसएसपीले भने, ‘किनभने १२ नम्बरमा दिनेश आचार्य छन् । उनलाई जसरी पनि बढुवा गर्नुपर्ने दबाबमा उहाँ हुनुहुन्छ ।’
बढुवाको सूचीमा रहेकामध्ये सुशीलसिंह राठौरको चर्चा तुलनात्मक रुपमा कम छ । तर उमा चतुर्वेदीको चर्चा दिनहुँ बढ्दो छ । चतुर्वेदीलाई ‘राम्रो मान्छे’ भनेर एकथरी काँग्रेसीहरु लागिपरेकाले चर्चा बढेको हो । उनी गुप्तचरबाट नेपाल प्रहरीमा आएका थिए । काँग्रेसीहरुसँगको सेटिङपछि बालुवाटार पुगेर राजेश बज्राचार्यलाई पनि भेटिसकेको बताइन्छ । उनी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बसेर आएका हुन् ।
अर्का प्रतिस्पर्धीमध्ये डम्बर बिकको पक्षमा धेरैको सहानुभूति देखिन्छ । उनलाई बढुवा दिँदा समावेशी सन्देश जाने भएकाले कसैले पनि विरोध गरेको पाइन्न ।
यता १४ नम्बरमा रहेका गोविन्द थपलियालाई बढुवा गर्नुपर्ने दबाबमा महानिरीक्षक रहेको एमालेजनहरुको बुझाई छ । थपलिया नाताले महान्यायाधिवक्ता रमेश बडालका ज्वाईं हुन् । थपलियाले रमेशका १३ दिने दाजुभाइकी छोरी बिहे गरेका हुन् ।
यता एसएसपी अरुण पौडेल भने भौंतारिएको पाइन्छ । उनी सबैतिर दौडिएका छन् तर ठ्याक्कै च्यानल हालसम्म फेला नपारेको बुझिन्छ । दिपेन्द्र क्षेत्री भने एकजना भूतपूर्व गृह राज्यमन्त्रीका भानिज हुन् । नवलपरासीका काँग्रेस नेता देवेन्द्र कँडेल अर्थात् मुन्ना भाइका भाञ्जा भएकाले उनी पनि दौडमा सामेल हुनुलाई अन्यथा भन्न नमिल्ने अवस्था छ ।
प्रतिस्पर्धी विनोद घिमिरेलाई आफ्नै समकालीनहरुले राम्रै मान्छन् । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता उनलाई प्रहरी संगठनभित्र तुलनात्मक रुपमा मिलनसार व्यक्तिको रुपमा लिने गरिएको छ । सुदर्शन कोइरालालाई कतिपयले जिस्काउँदै ‘गौ प्राणी’ भन्ने गरेको सुनिन्छ । उनी पनि यही मेसोमा लागि परेका छन् ।
२४ घण्टेको उपमा पाएका शारदाप्रसाद चौधरी पनि प्रतिस्पर्धी हुन् । २०५५ सालका ब्याची उनलाई सँधै मातेर बस्ने भएकाले प्रहरी संगठनभित्रै २४ घण्टेको उपमा दिइएको हो । हेर्दै ज्यान ठूला देखिने सुरेन्द्र गुरुङ पनि यस पटकको बढुवा सूचीका २६ जनामध्ये एक हुन् ।
दिलिपसिंह देउवाले पनि काँग्रेस सभापति शेरबहादुर देउवाका नातेदार भएकाले दौड छाड्ने कुरो भएन । जबकि यी पनि पहिले चौधरीझैँ २४ घण्टे भनेर चिनिन्थे । तर पछिल्लो समय सादगीको रुपमा प्रस्तुत हुन थालेको बताइन्छ ।
आज शनिबार भएकाले बढुवा सिफारिसको सम्भावना देखिँदैन । थप गर्न खोजिएको तीन वटा दरवन्दी स्वीकृत हुने छाँट नदेखिएपछि छिटोमा भोलि बेलुकी र ढिलोमा आगामी शुक्रबारसम्म बढुवा गर्ने प्रहरी हेडक्वार्टर र गृह मन्त्रालयको तयारी रहेको स्रोतको दाबी छ ।
टिप्पणीहरू