भद्रकालीमा रविको बयान धमाधम
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ । भद्रकालीस्थित सरकारी वकिलको कार्यालयमा अहिले बयान चलिरहेको छ ।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई हिजो साँझ बुद्ध एयरको जहाम्मा काठमाडौं ल्याइएको थियो । रातभर जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएका उनलाई आज बिहानै सरकारी वकिलको कार्यालय पुर्याइएको हो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी भएको थियो । उनीसँगै पक्राउ पुर्जी जारी भएका अर्का आरोपी प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई भने बयान लिएर पोखरा फिर्ता पठाइसकिएको छ ।
गोर्खा मिडिया नेटवर्क प्रालिको प्रवन्ध निर्देशकको हैसियतमा सूर्यदर्शन र स्वर्णलक्ष्मीसहित ५ वटा सहकारीको रकम अपचलनमा लामिछाने जोडिएका छन् । उनीविरुद्ध सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी छ ।
टिप्पणीहरू