विपद् प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

विपद् प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान
सुन्नुहोस्

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान गरेको छ । 

मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखामा आइपुग्ने गरी आगामी दश दिनभित्र रीतपूर्वक आवेदन पेश गर्न सूचनामा भनिएको छ । उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, ३५ वर्ष उमेर पुरा भई ५५ वर्ष ननाघेको, विपद् व्यवस्थापन क्षेत्रमा अधिकृतस्तर वा सोसभन्दा माथिल्लोस्तरमा कम्तीमा दश वर्षको कार्यअनुभव हुनुपर्ने छ । 

त्यस्तै, राजनीतिक दल वा संगठनको सदस्यता नलिएको, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको, सजाय नपाएको, बैंक तथा वित्तिय संस्थाको कालोसूचीमा नपरेको र सरकारलाई बुझाउनुपर्ने कर, बक्यौता बाँकी नरहेको हुनुपर्छ ।

दरखास्त फाराम बुझाउँदा उम्मेदवारले प्राधिकरणको उद्देश्य प्रभावकारी ढंगले परिपूर्ति गर्न तथा प्राधिकरण सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेसम्बन्धी तीन हजार शब्दको सोचपत्र र दश हजार शब्द भएको पाँच वर्षे व्यवसायिक कार्ययोजना पनि बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू