किर्तेमा मुछिएका परशुरामका अहेवविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोप लागेका डडेल्धुराको परशुराम नगरपालिकाका अहेव रमेश बोहराविरुद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । बोहराले अहेवमा नियुक्ति पाउनकै लागि कम्युनिटी मेडिसिन असिस्टेन्ट तहको झुठो प्रमाणपत्र बनाएको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रक कार्यालय भक्तपुरबाट जारी भएको कम्युनिटी मेडिसिन असिस्टेन्ट तहको नक्कली मार्कसिट र प्रमाणपत्रहरु पेश गरी नियुक्ति लिएको पाइएको छ ।
नगरपालिकाको वडा नम्बर ८ अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्रमा २०७७ भदौ ११ गते अहेव पदमा नियुक्त भई हालसम्म बहाल रहेर राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको अख्तियारको ठहर छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबी गरिएको छ ।
टिप्पणीहरू