छन्तुमा वार्ता, काठमाडौं र बेइजिङमा वक्तव्य

छन्तुमा वार्ता, काठमाडौं र बेइजिङमा वक्तव्य
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे औपचारिक घोषणा गरिएको छ । नेपालको परराष्ट्र र चीनको विदेश मन्त्रालयले आज एकसाथ भ्रमणबारे जानकारी गराएका हुन् । 

चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा नेपालका प्रधानमन्त्रीले चीनको औपचारिक भ्रमण गर्न लागेको उल्लेख छ । मन्त्रालयका प्रवक्ता माओ निङले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा नेपाली समकक्षी चीन आउन लागेको जनाइएको छ । 

यता, परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल डिसेम्बर २ अर्थात् मङ्सिर १७ गते चीन प्रस्थान गर्ने जानकारी दिएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तय भएको छ । त्यस्तै, समकक्षी ली छ्याङसँग पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

 चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज सिचुआन प्रान्तको राजधानी छन्तुमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको भ्रमणअघि अजेण्डालाई अन्तिम रुप दिन उहाँ हिजो त्यहाँ पुग्नुभएको हो । मन्त्री राणा भोलि स्वदेश फर्केर सोमबार प्रधानमन्त्रीको प्रतिनिधिमण्डल सदस्यको रुपमा बेइजिङ जाँदै हुनुहुन्छ ।

नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, मन्त्री, प्रतिनिधिसभा सदस्यहरु, मन्त्रालयका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र पत्रकारसहित ८७ जना सहभागी हुने बताइएको छ ।

टिप्पणीहरू