उ बेलाको दाउ, अहिले काउलीको भाउ

उ बेलाको दाउ, अहिले काउलीको भाउ

पत्रकार तथा लेखक कुसुम बिन्दासले काउलीको भाउसँग जोडेर डेढ महिनादेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गरेका छन् । तीन दशकयता नाम चलेका मिडियामा काम गरे पनि काउलीको भाउ सुन्दा हर्टअट्याक आउलाझैं हुने उनले बताएका छन् । 

पत्रकार भएपनि आफूले जिबी राईजस्तो व्यक्तिसँग संगत गर्न नजानेको उल्लेख गर्दै उनले रविमाथि तीखो प्रहार गरेका छन् । सामाजिक सञ्जालमा एउटा स्ट्याट्स लेख्दै उनले सहकारीको पैसाबाट बिहे भोज गरेको, महँगो गाडी किनेको, ससुरालाई समेत मालामाल बनाएको भन्दै रविका विगतलाई बाहिर ल्याइदिएका हुन् । 

सहकारी ठगी, किर्ते, संगठित अपराध, सम्पत्ति शुद्धीकरणबारे डेढ महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका रविलाई पोखरा, रुपन्देहीपछि काठमाडौंमा ल्याएर थप बयान लिइएको छ । उनी, जिबी, छविजोशी लगायत दर्जनौंमाथि सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप छ । रविले सोही रकमबाट निकिता पौडेलसँग गरेको विवाहपछि नगरकोटमा धुमधामसँग भोज (पार्टी) गरेका थिए । टोयोटा कार किनेको प्रमाण पनि छरपष्ट भइसकेको छ ।

उनै बिन्दासले फेसबुक स्टाटसमा लेखेका छन्,‘तीस वर्षसम्म नाम चलेकै मिडियाहरुमा कार्यरत रहेर पत्रकारिता त गरेको हुँ नी मैलें पनि । के गर्नु भाग्य नै खोटो । सहकारीकै पैसाबाट नगरकोटमा बिहे भोज, फर्च्युन टोयोटा कार, पाँच लाख तलब, बूढी र ससुरा मालामाल हुन पाएको भए त म पनि नो नट अगेन नारा बुलन्द गर्दै राजनीतिमा आउँथे होला, भ्रष्टाचारीको नाकको डाँडीमै किक हान्थे होला । आफूलाई त काउलीको भाउ सुन्दा नै हर्टअट्याक होलाजस्तो हुन्छ, कसरी राजनीति गर्नु ?’

टिप्पणीहरू