नेपाल फर्केर ऋण लिन नसक्ने जानकारी

नेपाल फर्केर ऋण लिन नसक्ने जानकारी
सुन्नुहोस्

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल थप ऋण लिनसक्ने अवस्थामा नरहेको बताउनुभएको छ । आज चीन भ्रमणबाट फर्केर उहाँले उक्त जानकारी गराउनुभएको हो । 

चीनको तीन दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केलगत्तै राणाले समकक्षी वाङ यीसँगको भेटवार्तामा उक्त धारणा राखेको सञ्चारकर्मीहरुलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिनियाँ विदेशमन्त्रीसँग आर्थिक तथा सामाजिक समझदारी कायम राख्ने विषयमा छलफल भएको छ । विगतमा भएका सहमतिलाई अगाडि बढाउने विषयमा पनि कुरा गरियो ।’ नेपाल थप ऋण लिनसक्ने अवस्थामा नरहेकोबारे आफूले जानकारी गराएको पनि मन्त्री राणाले त्यस अवसरमा बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली पर्सि चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । राणा सोही भ्रमणको तयारीका लागि अस्ति सिचुआन प्रान्तको राजधानी छन्तु पुगेर आज ग्वाङ्चौ हुँदै चाइना साउदर्नको उडानमा साढे ११ बजे निजी सचिव कमल रावलसहित काठमाडौं फर्कनुभएको हो । 

उहाँले हिजो चिनियाँ विदेशमन्त्री वाङसँग छन्तुमा प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डल सदस्यको रुपमा उहाँ पनि पर्सि बेइजिङ जाँदै हुनुहुन्छ ।

टिप्पणीहरू