प्रधानमन्त्रीभन्दा पहिले झलनाथ र चिनियाँ नेताहरुवीच भेट

प्रधानमन्त्रीभन्दा पहिले झलनाथ र चिनियाँ नेताहरुवीच भेट
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता चीन जानुभएको छ । पार्टीको विदेश विभाग प्रमुखसमेत रहनुभएका खनालले भोलि राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्षस्थ नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।

उहाँसँगै विदेश विभाग सचिव डा. शंकर खतिवडा जानुभएको छ । एक साता लामो भ्रमण क्रममा चिनियाँ नेताहरुसँग भेटवार्ता गरेपछि उहाँ ग्वाङ्झौ जानुहुने कार्यक्रम छ ।

चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी,चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स र ग्वाङ्झौ प्रान्तीय जनसरकारको संयुक्त आयोजनामा हुन लागेको अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्सको दोस्रो प्लेनरी सेसनलाई प्रमुख वक्ताको रूपमा नेता खनालले सम्बोधन गर्नुहुनेछ । ‘चीनको व्यापक सुधारलाई अझ गहिरो बनाउने विषयको अर्थ,सम्भावना र अवसरहरू’ रहेको सम्मेलनमा सात वटा विषयमा व्यापक छलफल गरिने आयोजकले जनाएको छ ।

नेता खनालको निजी सचिवालयका अनुसार भ्रमण पूरा गरेर उहाँ आगामी शनिबार स्वदेश फर्कनुहुने छ ।
 

टिप्पणीहरू