प्रशासकीय अधिकृतहरुको सरुवामा जोडियो धराने मेयरको व्यवहार

प्रशासकीय अधिकृतहरुको सरुवामा जोडियो धराने मेयरको व्यवहार
सुन्नुहोस्

२०७९ को स्थानीय तह निर्वाचनको क्रममा धरानले हर्क साम्पाङलाई चर्चामा ल्यायो । पछिल्लो समय साम्पाङकै कारण धरान उपमहानगरपालिका निरन्तर चर्चामा छ । चर्चाको कारणमा कुनै प्रशंसायोग्य उपलब्धी देखिँदैन । अदालत र कानुनमाथि धावा बोलेका मेयर साम्पाङको अराजक अभिव्यक्ति र शैलीको कारण धरानले चर्चा पाएको हो ।

साम्पाङ मेयर भएपश्चातको कार्य प्रगति, आर्थिक अपारदर्शिता, संकलित चन्दामा मनमौजी खर्च, स्थानीय सरकार सञ्चालन ऐनविपरित गतिविधिबारे खोज पत्रकारिता केन्द्रले अघिल्लो साता एक रिर्पोट सार्वजनिक गर्यो । तर, मेयर साम्पाङ भने यतिबेला रिर्पोटमा उल्लेखित कैफियतबारे स्पष्ट पार्न वा कानुनी उपचार खोज्नको सट्टा नैतिकविहीन बन्दै सञ्चारकर्मीविरुद्ध लागिपरेको देखिन्छ । 

आफूविरुद्ध समाचार लेखेका पत्रकारलाई कारवाही गरिदिन गृहमन्त्रीलाई प्रेषित पत्रमा  उनले ‘नगर प्रमुख पदको अपमान र अनादर गर्दै मानहानी गर्ने पत्रकार’विरुद्ध आवश्यक कदम चाल्न आग्रह गरेका हुन् । उनले पत्रमा नाम लेखेर खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारवाहीको दायरमा ल्याउन आग्रह गरेका छन् । 

साम्पाङले इलाका प्रहरी कार्यालय, धरानलाई उक्त पत्रको बोधार्थ दिएका छन् । दाहाल र ऋषिले सोही इलाका प्रहरी कार्यालयमा साम्पाङविरुद्ध उजुरी दिइसकेका छन् । मेयर साम्पाङले खुलमखुला ‘ऐना हेर्दा थुक्ने बनाइदिन्छु’ भनेर धम्की दिएपछि उनीहरुले बिहीबार आफ्नो ज्यानको खतरा रहेको जनाउँदै सुरक्षा व्यवस्थाको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

त्यस्तै आफ्नो पद मात्रै सम्मानित देख्ने साम्पाङले उपप्रमुखको चाहीँ किन आफैं अपमान गरेका होलान् ? स्थानीयको प्रश्न छ । अस्ति ‘नक्कली माओवादी हैन’ भन्ने दावी गर्न आयोजित पत्रकार सम्मेलनमा साम्पाङलाई सोधिएको थियो, ‘तपाईं बेलायत जाँदा कार्यवाहक जिम्मेवारी उपप्रमुखलाई नदिएर किन आफ्नो फूपाजु पर्ने वडाध्यक्षलाई दिनुभयो ?’

उनले विराटनगर उच्च अदालतको निर्णयलाई लत्याउँदै जवाफ दिएका थिए, ‘मलाई शुभयात्रासम्म नभन्नेलाई जिम्मेवारी दिन्छु त ? त्यसले मलाई शुभयात्रा भन्यो ? मलाई शुभयात्रा भन्नुपर्दैन ? त्यस्ता नाथे अदालत, कानुन । म पनि नगर प्रमुख हो । म पनि बनाउँछु कानुन । हामीलाई समोसा खान मन परेको छ, कानुनले मःमः खा भनेर हुन्छ ?’ 

मेयर साम्पाङले हिजै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अर्को पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् । ‘प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने हो ? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो,’ उनले भनेका छन्, ‘लौ न तुरुन्तै पठाइदिन पर्यो । धराने जनता पनि नेपाली नागरिक नै हुन् ।’

साम्पाङले आफूलाई निर्दोष र सभ्य देखाउन विभिन्न अस्त्र अपनाइरहेका छन् । उनले समाचारको खण्डन गर्न पत्रकार सम्मेलन नै गरे । समाचारविरद्ध कानुनी उपचारमा जान सल्लाह दिँदा उल्टै ‘यही हो मेरो उपचार’ भनेर घमण्ड देखाएका थिए । तर रिपोर्टमा दावी गरिएको आर्थिक अपादर्शिता, ५० लाखको खाजा, ऐनविपरित संरचना निर्माण लगायतका विषयमा भने उनले एक शब्द खर्चेनन् । बरु आफूलाई नै ‘बहादुर’ सावित गर्न दुई पत्रकारलाई कारवाही गर्न गृहमन्त्रीलाई पत्र लेखेका हुन् ।

साम्पाङले प्रमुख प्रशासकीय अधिकृत मागेपछि स्थानीयले भने पहिला आफ्नो स्वभाव बदल्न सल्लाह दिएका छन् । खोज पत्रकारिता केन्द्रको रिपोर्टमा दावी गरिएको प्रसंग निकाल्दै स्थानीय विक्रम भेटवालले भनेका छन्, ‘मेयर साप तपाईं किन यति अप्ठ्यारो ? पहिला आएका प्रमुख प्रशासकीय अधिकृतहरु किन दुई चार महिनामै गए ? आत्मसमीक्षा गर्नुपर्दैन ? नयाँ अधिकृत आए पनि फेरि दुई चार महिनामा जाने होलान् । तपाईंकै बानी त्यस्तो जो छ ।’

त्यस्तै अर्की स्थानीय भृकुटी लिम्बुले पनि साम्पाङलाई सच्चिन आग्रह गरेकी छन् । नत्र ०८४ को निर्वाचनमा जनताले नै बहिष्कार गर्ने उनको चेतावनी छ । भन्छिन्, ‘हाम्रो मन जित्नु भाथ्यो, भोट दियौँ । तर यस्तै ताल हो भने मेयर साप आगामी निर्वाचनमा हामी नै बहिष्कार गर्न बाध्य हुनेछौ । समृद्धिमात्रै हाम्रो उद्देश्य हैन, संस्कृति र संस्कार पनि हाम्रो पहिचान हुन् । तपाईंको संस्कार खै  ?’

टिप्पणीहरू