प्रधानमन्त्रीले बाल्यकालमा पढ्नुभएको विद्यालयलाई कोरियाको साढे चार करोड
प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराई गाउँपालिका–४ इवामस्थित प्रणामी विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । आफूले बाल्यकालमा प्रारम्भिक शिक्षा लिएको उक्त विद्यालयको १८ कोठे नवनिर्मित भवन आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको छ ।
विद्यालय भवन दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्माण गरिएको बताइएको छ । फाउण्डेसनले चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख लगानी गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार प्रधानमन्त्रीकै आग्रहमा उक्त फाउण्डेसनले सबैभन्दा धेरै लगानी गरेको छ । आज आयोजित कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति थियो ।
प्रधानमन्त्रीले त्यहाँका विद्यार्थी, शिक्षक, स्थानीयसँग अन्तरक्रियासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उक्त विद्यालयमा कक्षा ३ सम्म अध्ययन गर्नुभएको जानकारी दिइएको छ ।
टिप्पणीहरू