अध्यक्षको धाराप्रवाह धारणा रोक्न उपमहासचिवको नयाँ जुक्ति
शहरी क्षेत्रमा एमालेका मतदाता राम्रै थिए, तर किन घट्न थाले ? उक्त प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा यसरी आफ्नो धारणा राख्नुभयो : साथीहरु विदेश घुमेर मात्रै भएन, अब भूगोलमा पनि काम गर्नुपर्यो !
च्यासलस्थित पार्टी मुख्यालयमा हिजो बसेको बैठकमा उपनिर्वाचनको समीक्षा गर्ने क्रममा अध्यक्ष ओलीको यस्तो टिप्पणी आएको हो । बैठक स्रोतका अनुसार शहरी क्षेत्रका मतदातालाई पार्टीप्रति आकर्षित गराउन नसक्दा काठमाडौँ–१६ र कीर्तिपुरमा अनपेक्षित परिणाम आएको निष्कर्ष निकाल्नुअघि बैठकमा उपचुनावबारे लामै चर्चा भएको बताइन्छ ।
सोहीक्रममा आफ्नो धारणा राख्दै गरेका उपमहासचिव प्रदीप ज्ञवालीलाई बीचैमा रोक्दै अध्यक्ष ओली बोल्न थाल्नुभयो । ‘एकछिन यता सुनौँ’ भन्दै सुनाउनुभयो– ‘शहरी क्षेत्रमा किन पराजित हुनुपर्यो ? आत्मसमीक्षा गर्नुपर्ला नि !’
सचिवालय बैठक भनिएपनि तल्लो कमिटीका केही नेतासमेत सहभागी बैठकमा अध्यक्षको भनाई उद्धृत गर्दै स्रोतले सुनायो– अरु पार्टीका नेताहरुले नागरिकको ध्यान केन्द्रीत गर्नेगरी हल्ला खल्ला गरिरहेका छन्, हाम्रा साथीहरुलाई मैले कतै देख्दिनँ । विदेश भ्रमण पनि जाने हो, त्यो अनुभव पार्टीलाई काम लाग्छ, तर, पहिला जनतालाई पकडमा राख्नुपर्यो नि !
अध्यक्षले नेपाली काँग्रेस र माओवादी केन्द्रका केही नेताहरुको नामै किटेर उनीहरुको जस्तै सक्रियता देखाउन नसकेकोमा असन्तुष्टि पोख्नुभएको बताइन्छ । उपनिर्वाचनको नतिजा र नेताहरुको कार्यशैलीलाई लिएर अध्यक्ष ओली २० मीनेटसम्म लगातार बोलेपछि उपमहासचिव विष्णु रिमालले चीन भ्रमणको प्रसंग निकालेर विषयान्तर गर्नुपरेको स्रोतले बताएको छ ।
टिप्पणीहरू