देशभित्र रोजगारी बढाउन सक्रिय रहेको श्रममन्त्रीको दावी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशभित्रै रोजगारी सृजना गर्नेगरी आफूले काम गरिरहेको दाबी गर्नुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले आन्तरिक रोजगार महाशाखा स्थापना गरेर रोजगारी सृष्टि गर्ने योजना सुनाउनुभएको हो । श्रम मन्त्रालयले वैदेशिक रोजगारीको मात्रै काम गरेको जस्तो देखिएकाले आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको मन्त्रीले जानकारी दिनुभयो ।
उक्त संरचना निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै मन्त्री भण्डारीले सो सम्बन्धी प्रस्ताव क्याविनेटमा पुगिसकेको बताउनुभयो । 'हामीले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्दैछौँ । यसले मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवद्र्धन गर्ने, अघि बढाउने हो', उहाँले भन्नुभयो, 'सरकारले रोजगारी दिने होइन । बाटो बनाइदिने हो । रोजगार दिने भनेको रोजगार दाताले हो, निजी क्षेत्रले हो ।’
उहाँले मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवद्र्धन गर्ने काममा आफू लागिपरेको दाबी दोहोर्याउनुभयो । वैदेशिक रोजगारीबाट सीप सिकेर आएकाहरु मुलुकका लागि उपयुक्त जनशक्ति भएकाले त्यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
टिप्पणीहरू