चिनियाँ चार्टर उडान र तीर्थालुकाे भैरहवामा भव्य स्वागत गरिँदै

चिनियाँ चार्टर उडान र तीर्थालुकाे भैरहवामा भव्य स्वागत गरिँदै
सुन्नुहोस्

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट दुई सय २७ जना यात्रु बोकेर आउँदै गरेको एउटा चार्टर विमान बिहान साढे १० बजे अवतरण गर्दै छ । सेन्जेन विमानस्थलबाट आइरहेको सिए ५६१ विमान सवा दुई सय बौद्ध धर्म अनुयायी यात्रुलाई ओरालेर करिब दुई घण्टापछि सिचुआन प्रान्तको छन्तु फर्कने बताइएको छ । 

यता राजधानीमा सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नानहाई बौद्ध गोलमेच सम्मेलनको उद्घाटन गर्दै हुनुहुन्छ । राजधानीमा बिहान ९ बजे हुने गोलमेच उद्घाटनमा चीनलगायत विभिन्न मुलुकका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । 

उता, भैरहवा विमानस्थलमा लुम्बिनी दर्शनका लागि आउन लागेका चिनियाँ बौद्ध धर्मका तीर्थालुहरुको भव्य स्वागत गरिँदै छ । काठमाडौंस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख वाङ सिन, थर्ड सेक्रेटरी चौ थाओलगायत एक दर्जन बढी विमानस्थलमा आयोजना गर्न लागिएको स्वागत कार्यक्रममा सहभागी हुँदैछन् ।

चीनबाट आज हुन लागेको बौद्ध तीर्थालुहरुको चार्टर उडानपछि लुम्बिनीमा धार्मिक पर्यटकहरुको संख्यामा बढोत्तरी हुने जनाइएको छ । आज आएका ती यात्रुलगायत अन्य केहीलाई एअर चाइनाको विमान सीए ५६१ ले सोमबार बिहान ९ बजे छन्तुको तियानफु विमानस्थलबाट भैरहवा आएर लैजाने बुझिएको छ । 

सोमबार २६० जना यात्रुलाई चीन लैजाने क्रममा विमान करिब डेढ घण्टा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिने नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।

टिप्पणीहरू