निजी क्षेत्रका नर्स र स्वास्थ्यकर्मीहरुको सेवासुविधा सरकारी सरह, तलब बैंकमा दाखिला
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै नर्सिङ एवम् स्वास्थ्यकर्मीहरुको न्यूनतम पारिश्रमिक र सुविधा सरकारीसरह लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयमा देशभरका सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज तथा सामुदायिक र निजी अस्पतालले उक्त निर्देशनको पालना गर्न भनिएको छ ।
मेडिकल कलेज तथा स्वास्थ्य संस्थाबाट नर्सिङ एवम् अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिकलगायत सुविधामा अन्याय भएको गुनासो आएपछि मन्त्रालयले सरकारीसरह सुविधा नघट्ने गरी लागू गर्ने निर्णय गरेको जनाएको छ ।
मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न, नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिक बैंकिङ्ग प्रणालीमा मात्र उपलब्ध गराउन भनेको छ ।
त्यस्तै, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाउने र सक्कल शैक्षिक लब्धांक पत्रहरु कार्यालयले राख्न नपाउने एवम् अनुभवको पत्र प्रदान गर्नुपर्ने छ । तोकिएको न्यूनतम पारिश्रमिक नपाएमा जानकारी गराउन पनि आग्रह गरिएको छ ।
मन्त्रालयको ह्वाट्सएप नम्बर ९८५१३३०५९२, फेसबुक, ट्विटर र इमेलमा जानकारी गराउन सकिनेछ ।
टिप्पणीहरू