यसकारण दुःखी छैनन् घनश्याम

यसकारण दुःखी छैनन् घनश्याम

पुरातन मान्यता राख्नेहरु हिन्दु संस्कारमा आमाबुवा वा परिवारका अन्य सदस्यको मृत्यु भएमा छोरीले किरिया बस्नु हुँदैन भन्छन् । प्रायः बाबुआमाको मृत्युपछि छोराले नै काजकिरिया गर्ने चलन छ । 

तर, पछिल्लो समय काजकिरियामा छोरीहरुले पनि उत्तिकै सहभागिता जनाउन थालेका छन् । तनहुँमा आमाको मृत्युपछि उनकी छोरीले काजकिरिया गरिरहेकी छन् । 

शुक्लागण्डकी नगरपालिका–१, काठिपिपलकी रुपन कुँवरको मंसिर २० गते अल्यायुमै निधन भयो । आमाको निधनपश्चात् वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेकी तारा स्वेदश फर्किइन् । 

उनी एक्लैले दागबत्ति दिएर आमाको क्रियाकर्म अघि बढाएकी हुन् । ‘आमाको इच्छा थियो, छोरीले किरिया गरोस् भन्ने,’ उनले भनिन्, ‘आमाको वचन पूरा गर्न पाएकोमा खुशी छु ।’

हरेक काममा छोराजतिकै भूमिका छोरीहरुको समेत हुनुपर्ने उल्लेख गर्दै उनले समाजमा यस्तो क्रियाकलापमा लैङ्गिक रुपमा हुँदै आएको असमान व्यवहार हट्नुपर्ने माग गरिन् । 

१३ दिनसम्मको काजकिरियामा बसेकी तारालाई स्थानीय पण्डित कालिदास पौडेलले साथ दिइरहेका छन् । उनले छोरी पनि आफ्नै सन्तान भएको हुँदा कर्मकाण्डमा सहभागी हुन मिल्ने बताए ।

पछिल्लो समय छोरीहरुको भूमिका समाजमा प्रभावकारी बन्दै गएको बताउँदै उनले आमाबुवाको लालनपालनमा पनि छोरीहरु बढी सक्रिय देखिएको जनाए ।

साथै, छोरीहरुलाई काजकिरियामा सहभागी हुन कुनै रोकतोक गर्न नमिल्ने उनको ठम्याई छ । आफुले तारालाई छोराले नै गर्ने सबै विधिबाट काजकिरिया गर्न सहयोग गरिरहेको पौडेल बताउँछन् । 

दुई छोरी मात्र भएपछि छोराकै लागि सन्तानको चाहना नराखेका घनश्याम अहिले दुःखद् परिस्थितिमा समेत खुशी देखिन्छन् । आफ्नो र श्रीमतीको मृत्युपछिको परिस्थितिबारे समाजको मान्यताप्रति चिन्तित उनी अहिले समाजमा आफ्नै परिवारबाट उदाहरणीय कामको थालनी भएकोमा सन्तुष्ट छन् । 

अर्की छोरीले परिस्थितिवस आमाको काजक्रियामा सहभागी नहुन नपाएको उनले बताए । भने, ‘छोरीहरुको भूमिकाले छोरा नै चाहिन्छ भन्ने मान्यता मिथ्या सावित भएको छ ।’

स्थानीय नारायण विकले कुँवर परिवारमा छोरीले देखाएको उदाहरण सिको गर्न लायक रहेको बताए । सामाजिक रुपमा रहेको कुसंस्कारलाई हिम्मतले मात्र परिवर्तन गर्न सक्ने उनको तर्क छ ।

टिप्पणीहरू