कीर्तिपुर धाउनेमा राजेश हमाल अगाडि, स्वस्तीमा र रचना पनि दिनभर उतै

कीर्तिपुर धाउनेमा राजेश हमाल अगाडि, स्वस्तीमा र रचना पनि दिनभर उतै
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)ले खेल प्रेमीहरुमा मात्रै होइन, कलाकारमा समेत उत्साह ल्याएको छ । विभिन्न कलाकारहरु यतिबेला आफ्नो व्यस्ततालाई थाँती राख्दै मनपर्ने टिमलाई समर्थन गर्न कीर्तिपुर पुग्ने गरेका छन् ।

दिनहुँझैँ मैदानमा पुगेर क्रिकेट खेल हेर्नेको अग्रपंक्तिमा छन्, महानायक राजेश हमाल । उनी लुम्बिनी लायन्सको ब्राण्ड एम्बेस्डर पनि हुन् । लुम्बिनीको खेल हुने दिनबाहेक पनि टियु मैदानमा पुगेर रमाइरहेका देखिन्छन् । विडम्बना राजेशको टिम लुम्बिनी लायन्स सात खेलमा छ खेल हारेर प्लेअफबाट बाहिरिएको छ । 

अभिनेत्री स्वस्तिमा खड्का पनि लिग सुरु भएदेखि दैनिकजसो टियु मैदान पुगिरहेकी छन् । उनी ‘फेस अफ दी कर्णाली याक्स’ पनि हुन् । स्वस्तिमाले नयाँ चलचित्रको वर्कशप नै पोस्टपोन्ड गरेर क्रिकेटलाई प्राथमिकता दिएको बुझिएको छ । त्यस्तै, भ्लगर सिसन बानियाँ पनि दैनिक टियु मैदान पुग्छन् । उनलाई कर्णाली याक्सले ‘युथ फेस’ बनाएको छ । उनले पनि टिमलाई समर्थन गर्दै विभिन्न भिडियो भ्लग बनाइरहेका छन् । 

युवा पुस्ताकी चर्चित गायिका रचना रिमालले झन् क्रिकेट छाड्ने कुरै भएन ! उनी पहिल्यैदेखि क्रिकेटकी फ्यान हुन् । झन् एनपिएल सुरु भएदेखि उनी दैनिक टियु मैदान पुगिरहेकी छन् । विराटनगर किङ्ग्सको ‘युथ फेस’ समेत रहेकी रचना कहिले खेलाडीसँगै मैदानमै पुग्छिन्, कहिले समर्थकहरुसँग गीत गाउँदै नाच्छिन् । कतिसम्म भने, रचनाले एनपिएल समाप्त नहुन्जेलसम्म राजधानी नछाड्ने मनाशयसहित अन्य जिल्लाका मेला–महोत्सवको प्रस्तावलाई समेत लत्याएको बताइन्छ । विराटनगर किङ्ग्सका ब्राण्ड एम्बेस्डर दयाहाङ राई भने खासै मैदानमा देखिएका छैनन् । 

पूर्व मिस नेपाल श्रृंखला खतिवडा पनि दिनहुँ त्यहाँ पुग्छिन् । काठमाडौँ गुर्खाज टिमकी मालिकसमेत रहेकी उनी पति सम्भव सिरोहियासँगै मैदान पुग्छिन् । काठमाडौँ गुर्खाजमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र व्यवसायी उपेन्द्र महतोको लगानी छ । 

यसबाहेक, अभिनेत्री उपसना सिंह ठकुरी, सुपुष्पा भट्ट, सन्दिप क्षेत्री पनि टियु मैदान पुग्नेमा पर्छन् ।

टिप्पणीहरू