दक्षिण एसियाली व्यापार नीति पुनःविचार गर्नैपर्ने अवस्थामा

दक्षिण एसियाली व्यापार नीति पुनःविचार गर्नैपर्ने अवस्थामा
सुन्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनःविचार गर्नुपर्ने बताएका छन् । आज १५ औं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । 

अध्यक्ष ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरुमध्ये एक भएपनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताए । यसैले, कमजोर क्षेत्रहरुको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने नीति ल्याउनुपर्ने उनको तर्क छ ।  

उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगाति नभएको गुनासो गर्दै यस क्षेत्रमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत न्यून भन्सार महसुलले दबाब सिर्जना गरेको बताए । विशेष गरी नेपालजस्ता साना अर्थतन्त्रको स्थानीय उद्योग संरक्षण र प्रवद्र्धन गर्न गाह्रो परेको अध्यक्ष ढकालको ठहर छ ।

उनले साफ्टाले दक्षिण एसियाली क्षेत्रभित्र व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग गर्नुपर्नेमा जोड दिदैँ नेपालको जलविद्युतजस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उजागर गर्दै साझा ऊर्जा ग्रिडले सबै देशलाई स्वच्छ ऊर्जा स्रोतमा पहुँच र जीवाशम इन्धनमा निर्भरता कम गर्न सहयोग पुर्याउनसक्ने बताए । 

दक्षिण एसियाली क्षेत्रले जलवायु परिर्वतनको असर भोग्नु परेपनि अनुकुलन र न्यूनीकरणका लागि स्रोत सीमित रहेको र जलवायु योजना कार्यान्वयनका लागि सन् २०३० सम्म वार्षिक दुई सय अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको उनले जानकारी दिए ।

 

टिप्पणीहरू