एनपिएलको फाइनलमा जनकपुर र सुदूरपश्चिमको प्रतिस्पर्धा, दाजुभाइको भिडन्त
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल भोलि हुँदैछ । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भोलि दिउँसो साढे १२ बजे उपाधि भिडन्तका लागि मैदानमा उत्रिँदै छन् ।
फाइनल खेलको पूर्वसन्ध्यामा यतिबेला क्रिकेटप्रेमीहरु निकै उत्साहित देखिन्छन् । सामाजिक सञ्जालदेखि सडक, चोक र घर–घरमा दुबै टिमका समर्थकहरु उत्तिकै देखिन्छन् । र, एनपिएलकै कारण यतिबेला सबैभन्दा बढी गर्माहट छाएको कुनै परिवार छ भने, त्यो हो राष्ट्रिय क्रिकेट टोलीका सदस्य आसिफ शेख र आरिफ शेखको परिवार ।
यी दाजुभाइ फाइलन खेलमा एक–अर्काविरुद्ध मैदानमा भिड्दैछन् । लामोसमय देखि राष्ट्रिय टोलीमा नियमित स्थान बनाइरहेका आशिफ जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् भने उनका सहोदर दाइ आरिफ सुदूरपश्चिम रोयल्सका प्रभावकारी खेलाडी ।
शेख दाजुभाइ फरक टिममा हुँदा परिवार पनि विभाजित भएको छ । उनीहरूकी आमा सुदूरपश्चिमको समर्थक छिन् भने बाबु जनकपुर बोल्ट्सको । दाजुभाइको खेल हेर्दा बाबुआमाबीच कहिलेकाहीँ नोकझोंक नै चल्ने गरेको आसिफले केही समयअघि एउटा अन्तर्वार्तामा बताएका थिए ।
उनले भनेका छन्, ‘खेल हामी दाजुभाइ खेलिरहेका छौँ, तर एनपिएल हामीलाई भन्दा बढी घरमा बाबामम्मीलाई लागिरहेको छ । आरिफको टिमले जित्यो भने मम्मी खुशी हुँदै कराउनुहुन्छ, तर मेरो टिमले जित्यो भने बुबा कराउन पाउनुहुन्न, मम्मीसँग डराउनुहुन्छ (हाँस्दै) ।’
सुदूरपश्चिम र जनकपुर प्रतियोगिताकै उत्कृष्ट टिम मानिएका छन् । लिग चरणका सबै खेल सकिँदा दुबै टोली क्रमशः पहिलो र दोस्रो स्थानमा थिए । शीर्ष स्थानको सुदूरपश्चिमले दोस्रो स्थानमा रहेको जनकपुरलाई क्वालिफायरमा हराएर फाइनल प्रवेश गरेको हो । जनकपुरले भने चितवन राइनोजविरुद्ध इलिमिनेटर जितेर आएको कर्णाली याक्सलाई स्तब्ध पार्दै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गर्यो ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका जनकपुर र सुदूरपश्चिमबीच भोलि हुने फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । त्यसैमाथि शेख दाजुभाइको भिडन्तले थप रोचकता ल्याउने देखिन्छ ।
टिप्पणीहरू