त्रिभुवन विश्वविद्यालयको नियुक्तिमा महिला शून्य !

नेपाली समाजमा रहेको महिला र पुरुषबीचको विभेद अझै कायम छ । महिला जतिसुकै दक्ष र योग्य भएपनि उनीहरु पुरुषसरह अवसरबाट वञ्चित हुँदै आएका छन् । यसको पछिल्लो उदाहरण बनेको छ, मुलुककै पहिलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ।
त्रिवि कार्यकारी परिषद्ले आइतबार राति दुई दर्जन आंगिक क्याम्पसमा प्रमुख नियुक्त गर्यो । शंकरदेव क्याम्पस, रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाल कमर्श क्याम्पस, भैरहवा क्याम्पस, ललितकला क्याम्पस, सानोठिमी क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन संयुक्त क्याम्पसमा प्रमुख नियुक्त गरिएको जनाइएको छ ।
यस्तै, रामस्वरुप रामसागर क्याम्पस, भोजपुर बहुमुखी क्याम्पस, पृथ्वीनारायण क्याम्पस, सूर्यनारायाण सत्यनारायण क्याम्पस, डोटी बहुमुखी क्याम्पस, त्रिभुवन बहुमुखी क्याम्पस, जुम्ला बहुमुखी क्याम्पस, वनविज्ञान अध्ययन संस्थान पोखरा, कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ, पक्लिहवा क्याम्पस, मेची बहुमुखी क्याम्पस, धरानको केन्द्रीय प्रविधि क्याम्पस र धौलागिरी बहुमुखी क्याम्पसमा पनि प्रमुख नियुक्त गरिएको छ ।
हाल देशभर त्रिविका ६४ वटा आंगिक क्याम्पस सञ्चालनमा छन्, जसमा रिक्त २४ वटा क्याम्पसमा प्रमुख नियुक्त गरिएको हो । तर, नियुक्त भएकाहरुको सूचीमा एउटै पनि महिला परेनन् । यसो होइन कि क्याम्पस प्रमुखमा नियुक्तिका निम्ति महिला उम्मेदवारहरुको आवेदन नै परेको थिएन ।
महिला प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापकसम्मले नियुक्तिका लागि दरखास्त दिएका थिए । यद्यपि, एउटै क्याम्पस प्रमुखमा पनि महिला अटाएनन् । महिला सक्षम र योग्य हुँदाहुँदै पनि नेतृत्वमा जान नदिइएको भन्दै यतिबेला चौतर्फी विरोध भइरहेको छ । एकातिर ढिलो नियुक्ति, अर्कोतिर एउटै महिला नपर्नाले त्रिवि आलोचनाको अर्को भूमरीमा परेको छ ।
सामाजिक सञ्जालमा एक जनाले लेखेका छन्, ‘शिक्षा विभेदको अन्त्य गर्ने माध्यम हो । तर, शिक्षाकै थलोमा महिला र पुरुषबीच असमानता हुनु निकै दुःखद् छ ।’ ‘त्रिविको नियुक्तिमा महिला शून्य ! महिला जतिसुकै अनुभवी र योग्य भएपनि कार्यस्थलमा पुरुष सहकर्मी नै हाबी हुने रहेछन्,’ सञ्जालमै भेटिएको छ ।
कुन क्याम्पसमा को नियुक्त ?
राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस प्रमुखमा सहप्राध्यापक पदकुमार अधिकारी नियुक्त भएका छन् । विश्वभाषा क्याम्पसमा उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी र रामशाहपथस्थित शंकरदेव क्याम्पस प्रमुखमा सहप्राध्यापक कपिल खनाल नियुक्त भएका हुन् ।
ललितपुरको पाटन संयुक्त क्याम्पसमा सहप्राध्यापक रघुवीर विष्ट, बुटवल बहुमुखी क्याम्पसमा उपप्राध्यापक अरुणकुमार क्षेत्री, जनकपुरको रामस्वरुप रामसागर क्याम्पसमा प्राध्यापक वसन्तकुमार कर्ण, भोजपुर बहुमखी क्याम्पसमा सहप्राध्यापक पर्वतकुमार राई, भैरहवा बहुमुखी क्याम्पसमा सहप्राध्यापक लक्कीप्रसाद जोशी, ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा नियुक्त भएका छन् ।
यस्तै, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पसमा सहप्राध्यापक लालमणि आचार्य, सुर्खेत बहुमुखी क्याम्पसमा सहप्राध्यापक माधवप्रसाद खनाल, सिरहाको सूर्यनारायण सत्यनाराण क्याम्पसमा सहप्राध्यापक राजेश्वरप्रसाद यादव, डोटी बहुमुखी क्याम्पसमा सहप्राध्यापक दिलानन्द जोशी, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा उपप्राध्यापक टंकप्रसाद पन्थ, जुम्ला बहुमुखी क्याम्पसमा उपप्राध्यापक प्रकाशचन्द्र खत्रीलाई प्रमुखलाई नियुक्त गरिएको छ ।
यता, पोखराको वनविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक नारायणप्रसाद गौतम, लमजुङको कृषि र पशु विज्ञान अध्ययन संस्थानमा उपप्राध्यापक रामकुमार श्रेष्ठ, रुपन्देहीको पक्लिहवा क्याम्पसमा सहप्राध्यापक जन्मजय गैरे, मेची बहुमुखी क्याम्पसमा सहप्राध्यापक देवीप्रसाद आचार्य, धरानको केन्द्रीय प्रविधि क्याम्पसमा प्राध्यापक वसन्तकुमार राई र बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा सहप्राध्यापक सुदर्शन सिलवाल नियुक्त भएका छन् ।
डिनमा पनि महिला शून्य
यसअघि गत मंसिरमा त्रिभुवन विश्वविद्यालयले रिक्त आठ वटा संकायमा डिन नियुक्त गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपीशर्मा ओली र उपकुलपति केशरजंग बरालबीच चलेको तीन महिना लामो रस्साकस्सीपछि डिन नियुक्त गरियो ।
यद्यपि, त्यसमा पनि एउटै महिला अटाएनन् । मानविकी तथा सामाजिकशास्त्र संकाय डिनमा प्रा.डा. दुविनन्द ढकाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा.मोहनराज शर्मा, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा डा.किशोरचन्द्र दाहाल नियुक्त भएका थिए ।
यस्तै, शिक्षाशास्त्र संकायमा प्रा.डा.वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा.ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्रा.डा.महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाललाई नियुक्त गरिएको थियो ।
क्षितमा महिला अगाडि, नेतृत्वमा पुरुष
गत पुस १३ गते काठमाडौंको दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोह सम्पन्न भयो । दीक्षितका लागि ७४ हजार बढी विद्यार्थी योग्य भएपनि साढे १४ हजार मात्र प्रत्यक्ष रुपमा समारोहमा उपस्थित भएका थिए ।
त्यसमा पनि छात्राको सहभागिता बढी थियो । सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै १७ छात्राले पदक प्राप्त गरे । त्रिविले हरेक वर्ष दीक्षान्त समारोहमा उत्कृष्ट नतिजा वा सर्वप्रथम हुने विद्यार्थीलाई पदक एवम् पुरस्कार प्रदान गर्दै आएको छ ।
यो पटक २२ वटा पदक र पुरस्कार प्रदान गरिएकोमा १७ छात्रा र पाँच जना छात्रले प्राप्त गरेका हुन् । जसले उच्च शिक्षामा महिलाको सहभागिता बढ्नुका साथै उनीहरु पुरुषभन्दा योग्य छन् भन्ने समेत पुष्टि गरेको छ ।
अहिले त्रिविमा अध्ययनरत विद्यार्थीको तथ्याङ्क हेर्दा छात्रा धेरै देखिन्छन् । यसबाहेक समग्र उच्च शिक्षामा पछिल्लो समय महिलाको सहभागिता पुरुषभन्दा बढी रहेको छ । उच्च शिक्षा हासिल गर्ने र पदक पाउनेमा महिला अगाडि रहेपनि नेतृत्वमा भने उनीहरु पछाडि परिरहेको अवस्था छ ।
मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिएको त्रिविको दाबी
दुई दर्जन क्याम्पस प्रमुख नियुक्तिमा एउटै महिला नपरेपछि व्यापक आलोचना भइरहँदा त्रिभुवन विश्वविद्यालयले भने मेरिटोक्रेसी (योग्यताक्रम) को आधारमा नियुक्त गरिएको बताएको छ ।
त्रिविका सूचना अधिकारी भीमबहादुर श्रेष्ठ छनौट तथा सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको बताउँछन् । उनका अनुसार आवेदन दिने महिला नै कम थिए ।
त्रिविमा विद्यार्थी संघसंगठनहरुको तालाबन्दी, घेराउ, दादागिरीलगायत विभिन्न अमानवीय गतिविधि भइरहने हुँदा क्षमतावान् महिलाले समेत आवेदन नदिएको उनको ठम्याई छ ।
महिलालाई रोकिएको होः अधिकारकर्मी
राष्ट्रिय महिला आयोगकी सदस्य एवम् महिला अधिकारकर्मी डा.लिली थापा दक्ष र सक्षम महिला प्रतिस्पर्धी हुँदाहुँदै उनीहरुलाई रोकिएको बताउँछिन् । योग्यताका हिसाबले महिला पुरुषभन्दा माथि रहेपनि कार्यस्थलमा भने उनीहरुलाई पछि पार्ने गरिएको उनको ठम्याई छ ।
अहिले पनि समाजमा पितृसत्तात्मक सोच कायमै रहेको भन्दै उनले त्रिविमा मात्र नभई हरेक क्षेत्रमा महिलालाई नेतृत्वमा अवसर नदिइएको दुःखेसो गरिन् । ‘त्रिविमा मात्र होइन, संवैधानिक आयोगदेखि राज्यका विभिन्न निकाय वा निजी क्षेत्रमा पनि महिलाले नेतृत्व गर्न सक्ने भूमिका (पद) समेत उनीहरुलाई दिइएको छैन,’ उनले भनिन् ।
कतिपय ठाउँमा महिला नल्याउनकै लागि असहज वातावरण सिर्जना गरिदिने उल्लेख गर्दै सदस्य थापाले थपिन्, ‘नेतृत्वमा पुगेपछि पनि महिलाले पाइलेपिच्छे आफुलाई सावित गर्नुपर्ने अवस्था आउँछ । कार्यस्थलमा जति पुरुषलाई प्राथमिकता दिइन्छ, त्यति महिलाले पाउँदैनन् । जतिसुकै अनुभवी र योग्य भएपनि महिलालाई पुरुषभन्दा तलै राखिन्छ ।’
समाजले महिला र पुरुषबीच गर्ने विभेदपूर्ण व्यवहार अझै पनि हट्न नसकेको उनको गुनासो छ । पछिल्लो समय हरेक क्षेत्रमा राजनीति हाबी हुँदा महिला झन् झन् पछि पर्दै गएको उनको ठहर छ । महिलाहरु राजनीतिमा कमै मात्र संलग्न हुने जनाउँदै सदस्य थापाले राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदा दक्ष, योग्य र सक्षम महिलाहरु मारमा परेको बताइन् ।
अर्की महिलाअधिकारकर्मी जस्मिन ओझा महिलालाई पुरुषभन्दा तल नै राख्न खोजिने बताउँछिन् । घरदेखि कार्यस्थलसम्मै महिलालाई तल्लो भूमिकामै रुचाउने गरिएको उनको भनाइ छ ।
‘दक्ष महिला छोडेर पुरुषलाई अवसर दिने प्रवृत्ति अहिले मात्र होइन, पहिल्यैदेखि चलिआएको छ, त्यो चाँहे घरमा होस् या कार्यस्थलमा,’ उनले भनिन्, ‘अझै पनि समाजले महिला नेतृत्वलाई पत्याउँदैन । महिला जतिसुकै दीक्षित भएपनि पुरुषभन्दा तलै हुनुपर्छ भन्ने सोच कायमै छ ।’
महिलालाई घरमा मात्र सीमित गराउन खोजिने उल्लेख गर्दै ओझाले थपिन्, ‘महिलामाथि धेरै पारिवारिक जिम्मेवार हुने हुँदा पनि उनीहरुलाई अवसरबाट वञ्चित गराइन्छ ।’
टिप्पणीहरू