नेप्सेको हाकिममा कर्मचारीको चासो

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा योग्य व्यक्ति नियुक्त गर्न नेप्से कर्मचारी संघले आग्रह गरेको छ ।
आगामी माघ २५ गते नेप्सेका वर्तमान सिईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिँदैछ । उनको कार्यकालमा समस्या सुल्झिने भन्दापनि झन् बल्झिएको भन्दै संघले पूँजी बजारको विषयमा राम्रो ज्ञान भएको व्यक्तिलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
संस्थाको पुनःसंरचना गर्ने, साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्ने–गराउने, नयाँ कारोबार योग्य औजार ल्याउने, प्रविधिलाई अध्यावधिक गराउनेलगायतका चुनौतीपूर्ण अवस्थाबाट नेप्से गुज्रिरहेको संघको भनाइ छ । संघले आज एक विज्ञप्ति जारी गर्दै नेप्सेमा भएका चुनौतीहरुलाई पार लगाएर पूँजी बजारको विकास र लगानीकर्ताको हितमा प्रभावकारी कार्य गर्न सक्ने सक्षम नेतृत्वको खाँचो रहेको बताएको छ ।
‘नेपाल सरकार अर्थ मन्त्रालयबाट अब नियुक्त गरिने नेप्सेको प्रमुख कार्यकारी अधिकृत पूँजी बजारको विषयमा ज्ञान सीप, व्यवसायिक क्षमता भएको नैतिकवान साथै पूँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध र नेप्सेको पुनःसंरचना कार्य गर्न–गराउन सक्ने व्यक्तिलाई छनौट गरी पठाउन हुन अनुरोध गर्दछौं’,विज्ञप्तिमा उल्लेख छ ।
सिईओको कार्यकाल तीन वर्षको हुन्छ । २०७८ माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले पाल्पा घर भएका कार्कीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । तीन वर्षमा उनले खासै सम्झनलायक काम नगरेको नेप्सेका कर्मचारीहरुको गुनासो छ ।
टिप्पणीहरू