संसद अधिवेशनको तयारी

संसद अधिवेशनको तयारी

काम परेर हिजो सिंहराज काठमाडौंस्थित एउटा ठूलो पार्टीको कार्यालय पुगेको थियो । ठूलो पार्टी भनेपछि कार्यालय पनि ठूलै हुने भयो । भित्र छिरेँ । राजनीतिक पार्टीको कार्यालयमा राजनीतिक टाइपकै गतिविधि भइरहेको होला भन्ने अनुमान लगाएको थिएँ । तर हेर्दा दृश्यहरू बेग्लै पाएँ । 

सबैभन्दा पहिले पुगेँ कार्यालयको चौरमा । किनभने कार्यालय त पहिले चौरनै पार गर्नुपर्छ । कार्यकर्ता मजाले घाम तापेर जिउमा तेल घसिरहेका थिए । सबैको शरीरमा लंगौटी डिजाइनको अण्डरवेयर मात्र थियो । एकले अर्काको जिउमा मजाले तेल घस्दै बसिरहेका । 

म भित्र छिरेँ, ग्राउण्ड फ्लोरमा । त्यहाँ केही नेता गह्रुँगा चक्का उठाएर जिउ बनाइरहेका थिए । कोहीचाहिँ ट्रेडमिलमा दौडिरहेका थिए । कोही भारत्तोलन उठाइरहेका थिए । 

त्यसपछि अर्को तल्ला गएँ, फस्र्ट फ्लोर । त्यहाँ पनि दृश्य त्यस्तै थियो । अलि पाका नेताहरू सुकेका हातहरूमा भुक्क फुलेका बक्सिङ ग्लोब लगाएर अगाडिको प्याडमा प्याट्ट प्याट्ट हानिरहेका थिए । कोहीचाहिँ सुरुवालै लगाएर अगाडिको प्याडमा छुने गरी किक् दिइरहेका थिए । 

जे होस्, दृश्य अनौठो थियो । म त्यो दृश्य हेरि नै रहेको थिएँ, मैले भेट्न खोजेका नेताजी त्यहीं टुप्लुक्क प्रकट हुनुभयो । 

‘के छ मित्र ? छक्क पर्नुभयो कि क्या हो ?’ उहाँले सोध्नुभयो । 
मैले भनेँ, ‘छक्क पर्नु स्वाभाविकै भयो नि । के हो यो सब ? अचम्मै लाग्यो ।’
उहाँले भन्नुभयो, ‘अचम्म मान्नु पर्दैन । यो हाम्रो पार्टीकै तयारी हो ।’

‘तयारी ? केको तयारी ?’ म झनै छक्क परेँ । 

‘अहिले संसदको अधिवेशन बस्न लागेको थाहा छैन तपाईंलाई ? राष्ट्रपतिले संसद आह्वान गरिसक्नुभयो नि । अब त्यसैको तयारी हो । संसद जानु अघि पूरा तयार भएर जानुप¥यो नि । त्यसैको तयारी हो । ’ नेताजीले छोटकरी तर विस्तृतमा बताउनुभयो । 
 

टिप्पणीहरू