रविको मुद्दामा आजै आदेश आउने

चितवनको सहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
हिजो जिल्ला अदालतमा उपस्थित भएर दुई घण्टा बयान दिएका लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्यसहित ६ जनाले बहस गरेका थिए ।
त्यस्तै, सरकारी वकिलको तर्फबाट रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरे । जाहेरकर्ता (पीडित)को तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, राजकुमार श्रेष्ठ, गोपिलाल देवकोटालगायतले बहस गरेका थिए ।
बहस सकिएसँगै न्यायाधीश दयाराम ढकालको इजलासले आजै थुनछेक आदेश सुनाउने तयारी गरेको छ ।
सवा ३८ करोड हिनामिना भएको उक्त सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले अस्ति (मंगलबार) लामिछानेसहित १५ जना व्यक्ति र पाँच कम्पनीविरुद्ध पूरक अभियोजन दर्ता गरेको थियो ।
टिप्पणीहरू