वकिल कुट्ने रास्वपा कार्यकर्ता धरौटी तिर्न नसकेपछि कारागार चलान

वकिल कुट्ने रास्वपा कार्यकर्ता धरौटी तिर्न नसकेपछि कारागार चलान

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा छोड्न आदेश भएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, धरौटी बुझाउन नसक्दा एकजना कारागार चलान भएका छन् । 

दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ वर्षीया सीतादेवी राई धरौटी बुझाएर रिहा भएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए । हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको उनले जानकारी दिए । 

‘३ नम्बर इजलासको श्रीमान गायत्रीप्रसाद रेग्मीको इजलासले प्रतिव्यक्ति एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो । दुई जना धरौटी बुझाएर छुटिसक्नुभयो भने एक जना कारागार चलान हुनुभएको छ’,उनले भने । धरौटी तिर्न नसक्ने जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता हुन् । 

रास्वपा सभापति रवि लामिछाने मुछिएको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ २ गते सहकारी पीडितका तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि अदालत परिसरमा कुटपिट भएको थियो । रविविरुद्ध बहस गरेको भन्दै उनीमाथि आक्रमण भएको थियो । 

त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तीन जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो ।

टिप्पणीहरू