वडाध्यक्षको भैंसी मर्दा छानबिन

वडाध्यक्षको भैंसी मर्दा छानबिन

मोरङमा एक जना वडाध्यक्षको भैंसी मरेपछि गाउँपालिकाले छानबिन थालेको छ । केराबारी गाउँपालिकाका ३ नम्बर वडाध्यक्ष रामचन्द्र शाहीको माघ २२ गते मरेको लैनो भैंसीको छानबिनका लागि तीन सदस्यीय समिति बनाएको बताइन्छ । 

वडाध्यक्ष शाहीले पशुपन्छी शाखाका प्रमुख सहदेव दासले दिएको गलत औषधिका कारण लैनो भैंसी मरेको दाबी गर्दै क्षतिपूर्ति दाबी गरेका छन् । अध्यक्षको दाबीमा गाउँलेहरुले समेत साथ दिएपछि पालिकाले तत्काल पशु प्राविधिक दासलाई  छानबिन नसकिएसम्म फिल्डमा गएर उपचार गर्न रोक लगाएको छ । 

शाहीले क्षतिपूर्ति माग दाबी गरेपछि छानबिन गर्न समिति बनाएको र भेटनरी शाखाका प्रमुख दासलाई अस्तिदेखि फिल्डमा गएर काम नगर्न मौखिक रुपमा आग्रह गरिएको गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले बताए । पालिकाले कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाको नेतृत्वमा गठन गरेको समितिमा एकजना पशु प्राविधिक र एक जना जनप्रतिनिधि राखेको छ । 

समितिले परीक्षणका लागि मृत भैँसीको नमूना संकलन गरिसकेको छ । संयोजक बाँस्तोलाले भने, ‘मुचुल्का उठाएर स्याम्पल लिने काम सकिएको छ । अब परीक्षणको ‘रिपोर्ट’ आइसकेपछि मात्र थप काम अगाडि बढछ ।’ यसअघि अध्यक्षले स्थानीय इलाका प्रहरीमा उजुरी पनि दिएका थिए । प्रहरीले दुबै पक्षलाई  बोलाएर समस्या समाधानको निम्ति प्रयास गरेको बताइन्छ । 

अध्यक्षले भैंसी मरेकोमा एक लाख २० हजार रुपैयाँ भैंसीको क्षतिपूर्ति दाबीको अडान छाडेका छैनन् । प्राविधिक दासले पनि आफूबाट कुनै गल्ति नभएको बताउँदै आएका छन् । तर गाउँलेहरुको दबाबका कारण पालिकाले छानबिन समिति गठन गरेको अध्यक्ष मरिचुङले बताए ।  
 
वडाध्यक्ष शाहीका अनुसार भैंसी एक महिनाअघि ब्याएको थियो । दैनिक १२ लिटर दुध दिएको भैंसीमा नाम्लेको लक्षण देखिएपछि पालिकामा गोबर परीक्षण गराइएको थियो ।  सिफारिस गरिएको औषधि खुवाएपछि लैनो भैंसी मरेको वडाध्यक्ष शाहीको आरोप छ । शाहीले पशु स्वास्थ्यकर्मी साहले उपचार गरेका धेरै वटा पशु थप बिरामी भएको र मरेको आरोप लगाएका छन् । 
   

साहले वडाध्यक्ष बिरामी भैंसीको गोबर लिएर आएको र आफूले चेकजाँच गरेर मात्र नाम्लेको औषधि दिएको बताए । जबर्जस्ती औषधि खुवाउँदा सर्केर भैंसी मरेको हुनसक्ने उनको अनुमान छ । प्राविधिक साहले भने ‘पशु मर्ने बित्तिकै आरोप लगाउन मिल्दैन । मबाट कुनै गल्ति भएको छैन त्यसैले म आफनो उपचारमा अडिग छु । छानबिनले गलत देखाए कानुन अनुसारको सजाय भोग्छु ।’ ,
 

टिप्पणीहरू