पत्रकारको निधारमा तीन टाँका, महासंघ गम्भीर

पत्रकारको निधारमा तीन टाँका, महासंघ गम्भीर

नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष एवम् पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ । गएराति १० बजे जयपृथ्वी नगरपालिका–१०, स्थित सदरमुकाम चैनपुरको देवीस्थान होटेलमा खाना खाएर फर्कने क्रममा उनीमाथि चक्कु प्रहार भएको बताइन्छ ।

सिंहका अनुसार मसस्टा गाउँपालिका–४, का विनोद कठायतलगायत समूहले आफूलाई कुरा गर्नु छ भन्दै होटलमा बोलाएका थिए । भोलि कुरा गरौंला भन्दा पनि जबरजस्ती अपहरण शैलीमा कोठामा लगेर चुुकुल लगाई आफूमाथि कुटपिटसँगै चक्कु प्रहार भएको उनको भनाई छ । 

सिंहको निधारमा तीन टाका लगाइएको छ । उक्त सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्रकार महासंघले कडा कारबाहीको माग गरेको छ । 

जुनसुकै बहानामा भएपनि पत्रकारमाथि भएको उक्त आक्रमण अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराध भएको उल्लेख गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाहीका लागि महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’ साथै, पत्रकारको सुरक्षामा गम्भीर हुन र यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न पनि महासंघले आग्रह गरेको छ ।
 

टिप्पणीहरू