पूर्वराजालाई पोखरामा ३९ कोठा

पूर्वराजालाई पोखरामा ३९ कोठा

पूर्वराजा ज्ञानेन्द्र शाह देशभित्र र बाहिरका विभिन्न कार्यक्रममा सक्रिय छन् ।

सरकारप्रतिको वितृष्णाले व्यवस्थामाथि नै प्रश्न उठिरहेका बेला भारत पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सुटुक्क भेटवार्ता गरेका उनको देशभित्र पनि सक्रियता बढ्दो छ । युपीबाट फर्केपछि केही दिन काठमाडौँ बसेर सपरिवार पश्चिम नेपालको यात्रामा निस्केका पूर्वराजा महिनौँदेखि राजधानी बाहिर छन् । 

पूर्वराजा ज्ञानेन्द्र यसरी दलबलसहित घुमफिरमा रहनुको कारण के होला ? उनको भारत भ्रमण होस्, या मधेसदेखि पश्चिम नेपालको यात्रा- प्रश्न उठ्ने गरेकै छ । यसैबीच आउँदो शुक्रबारदेखि पोखरामा मुकाम राख्नेगरी २२ दिनका लागि पारिवारिक जत्था लिएर उनी त्यता जाँदैछन् । 

त्यसका लागि नयाँ खुलेको दोबिल्लास्थित माउन्ट ग्लोरी होटलमा ३० वटा कोठा बुक भैसकेको छ,जहाँ गत वर्ष पनि उनले सवा करोड तिरेर लामो समय बिताएका थिए । स्पेशटाइम केबलका पूर्व मालिक बहादुरकृष्ण ताम्राकार,सुनिलभक्त श्रेष्ठ र सशस्त्रका पूर्व आइजी कोषराज वन्तसमेत जोडिएको सो होटलमा कोठा नपुगेर छेवैको अर्को होटलमा ९ वटा कोठा लिइएको छ । 

भ्रमण दलमा राज परिवारका सदस्यसँगै ज्ञानेन्द्रका बालसखा प्रभाकरसमशेरकी पत्नी पनि सामेल हुने छन् । प्रभाकर सोल्टी होटलको पूर्वमालिक हुन् । त्यस्तै, पूर्वराजाकी एकमात्र जीवित बहिनी शोभा र पति मोहनबहादुर शाहीसहित जुद्धसमशेर खलकका केही व्यक्ति पनि टोलीमा रहने बताइएको छ । तर,पोखरामै बस्दै आएका पारसको सहभागिता हुने-नहुने चैं प्रष्ट छैन ।

पोखरालाई मुकाम बनाएर उनीहरु कता जान लागेका हुन् भन्ने यकिन छैन । कतिपयले धार्मिक भ्रमण हुनसक्ने अनुमान गर्दा विवादित धर्मगुरु विजय कृष्णमूर्ति भनिने विजय भण्डारी पोखरामै छन् । गत वर्ष पशुपतिमा कोटीहोम लगाएका उनले पोखरामा पनि त्यस्तै आयोजना गर्न लागेका थिए । तर,रुख काटेर जंगल नाङ्गो पारेको भन्दै पोखरा महानगरले दाउरा जफत गरेपछि सरकारसँग भिड्ने मुडमा रहेका उनी 'धर्मको लागि अधर्म पनि गर्छु' भन्दै हिँडेका छन् ।    

अर्कोतिर,दुर्गा प्रसाईंले पूर्वतिर राम्रै रमिता देखाउने तयारी गरेको पाइन्छ,जसमा पूर्वराजालाई पनि निम्तो दिइएको छ ।

टिप्पणीहरू