भत्केको सडक पहिलको जस्तै बनाइयोस् : सडक विभाग

सडक डिभिजन काठमाडौंले बबरमहलको सडक पहिलेको जस्तै बनाउन काठमाडौं उपत्यका खानेपानी लिमिडेट (केयूकेएल) लाई आग्रह गरेको छ । मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा बबरमहलको सडक हिजो क्षतिग्रस्त भएपछि डिभिजनले सडक यथास्थितिमा यथाशीघ्र बनाउन भनेको छ ।
हिजोको घटनाले आगामी दिनमा अन्यत्र पनि हुनसक्ने अवस्थाको आँकलन गर्न सकिने जनाउँदै डिभिजनले भनेको छ, ‘अब यस किसिमको क्षतिको न्यूनीकरणका लागि थप आवश्यक सावधानी अपनाउन हुनसमेत अनुरोध छ । साथै, पाइप फुटेर जलमग्न हुन थालेपछि पाइपको इनलेट बन्द गर्न खबर गराएपनि लामो समयसम्म पानीको बहाव नरोकिएकाले थप क्षति हुन पुगेको डिभिजनको ठहर छ ।
उपत्यका खानेपानी लिमिटेडले बबरमहल क्षेत्रमा बिछ्याएको मेलम्ची खानेपानीको पाइप फुट्दा विशेष अदालत र जिल्ला अदालतअगाडिको सडक जलमग्न भएको थियो । पानी झण्डै चार घण्टापछि मात्रै रोकिएको थियो । उक्त पाइप नेपाल विद्युत प्राधिकरणको लापरबाहीले फुटे पनि लिमिटेडमाथि समयमै पानीको बहाव नरोकेकाले थप क्षति पुगेको आरोप लागेको छ ।
टिप्पणीहरू