सेनाका हाकिम दिनदहाडै सुइँकुच्चा

सेनाका हाकिम दिनदहाडै सुइँकुच्चा
सुन्नुहोस्

उता, सेनानी ब्यारेक छाडेर नदीमा हामफाल्ने, यता सह–सेनानी घर बिदामा गएर फर्किँदै नफर्किने । डोल्पामा गत वर्ष सेनानी विमल पण्डित नदीमा हाम्फाले र १६ दिनपछि भदौ २६ गते मृत अवस्थामा भेटिएका थिए भने काठमाडौंको सीतापाइलास्थित श्री नम्बर १ युद्धकवच कमाण्डो गणमा क्याप्टेन दर्जाका सैनिक अधिकृत चाहिँ भगौडामा परेका छन् ।

घर बिदामा गएका सह–सेनानी किरण दाहाल कार्यालय नै नफर्किएका हुन् । उनी गत माघ २० गतेदेखि २ दिने घर बिदामा थिए । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने टंकनाथ दाहालका नाति तथा परशुराम दाहालका छोरा उनी माघ २३ गते कार्यालयमा उपस्थित हुनुपर्ने थियो । ब्याच नम्बर ६८६१ भएका उनी नफर्किएपछि सेनाले धुइँधुइँती खोजी गर्न थालेको छ । परिचयपत्रसमेत बोकेर हिँडेका उनलाई कहीँ–कतै फेला पारेमा पक्राउ गरेर उपस्थित गराउन प्रहरीसँग गुहार मागिएको बुझिएको छ । 

यता, गौरीबक्स गुल्मका सिपाही लोकेन्द्रराज जोशी पनि सम्पर्कविहिन छन् । बैतडीको दशरथचन्द नगरपालिका–९,आयारैखाली बस्ने रामदत्त जोशीका नाति तथा हरिदत्त जोशीका छोरा उनी माघ १४ गतेदेखि घर बिदामा थिए । १२ दिन बिदा बिताएर माघ २५ गते हाजिर हुनुपर्ने थियो । सिपाही अमरनाथ यादवको पनि अहिलेसम्म कुनै अत्तोपत्तो छैन । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ बस्ने गौरी अहिरका नाति तथा रामदेश अहिरका छोरा उनी कालीजंग गणमा कार्यरत थिए । उनी पनि घरबिदा भनेरै गणबाट निस्किएका हुन् । माघ २१ गतेदेखि चार दिन बिदामा रहेका उनी २४ गते साँझ ५ बजे कार्यालयमा उपस्थित हुनुपर्ने थियो । 

रणशार्दूल गणका सिपाही रोमन लिम्बू भने तारबार नाघेर भागेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ बस्ने हर्कप्रसाद लिम्बूका नाति तथा भीमराज लिम्बूका छोरा उनी माघ २३ गते बेलुका कसैले सुइँको नपाउनेगरी फरार भएका हुन् । सिपाही राजु विश्वकर्माले पनि तारबार नाघेर कुलेलम ठोकेका छन् । मोरङको सुन्दर गाउँपालिका–२ का गणेशबहादुर विश्वकर्माका नाति तथा दिनेश विश्वकर्माका छोरा उनी माघ २५ गते भागेका थिए । उनी कतै भेटिएमा खबर गर्न सेनानी धनप्रकाश तावाहाङ्गले पुलिस गुहारेका छन् । सैन्य सोनु यादव माघ २२ गते सि.सं.५ सैन्य आधार तालिममा नियमित परेड गरिरहेका थिए । कोही नभएको मौका छोपेर ब्यारेकको हाता नाघी भागेका छन्।

पर्साको छिपहरमाई गाउँपालिका–१ निवासी बच्चा राउत यादवका नाति तथा लालबाबुप्रसादका छोरा उनलाई भेटेमा समातेर ल्याउन भनिएको छ । सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसी भाग्ने क्रम चलिरहने बताउँछन् । तालिमको क्रममा सबैभन्दा बढी भाग्ने गरेको उनको भनाइ छ । एकाध सैनिक भागेर संगठनलाई कुनै फरक नपर्ने उनले बताए । जनआस्थासँग भने, ‘भाग्ने क्रम चलिरहन्छ । तालिमको क्रममा सबैभन्दा धेरै भाग्छन् । कोही अवसरको खोजीमा, कोही घरायसी त कोही मानसिक कारणले भाग्छन् । केहीचाहिँ फर्किएर पनि आउँछन् ।’
 

टिप्पणीहरू