आफूलाई सानो भनेकोमा माधव नेपालको आक्रोश
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई सानो भनी हेपिएको भन्दै आक्रोश पोख्नुभएको छ ।
आजदेखि शुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले ठूला दलले आफ्नो पार्टीलाई हेपेको बताउनुभएको हो । सानो पार्टी भन्दै हेप्नेलाई आगामी चुनावमा ठूलो बनेर देखाइदिने अध्यक्ष नेपालले अठोट व्यक्त गर्नुभयो ।
सम्बोधनका क्रममा उहाँले पार्टी सानो छ भन्ने लघुताभासबाट मुक्त रहन नेता-कार्यकर्तालाई विशेष आग्रहसमेत गर्नुभयो । उहाँ भन्नुहुन्छ- ‘हाम्रो पार्टी सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर अघि बढौँ । यो पार्टी चल्दैन भन्ने निराशावादी कुरा गर्नेलाई मुखभरको जवाफ दिन काम, गतिविधि र व्यवहार देखाउँछौँ ।’
विगतमा पनि क्रान्ति र आन्दोलन गर्न सक्दैनन् भनेर पार्टीभित्रै निराशाका कुरा हुने गरेको स्मरण गर्दै अध्यक्ष नेपालले त्यस्तालाई प्रहार गरेर नयाँ युग थालेको उल्लेख गर्नुभयो ।
एकीकृत समाजवादी एमाले या माओवादी मिसिन लागेको भनेर कु-प्रचार गरिएको बताउँदै उहाँले कतै पनि मिल्न नजाने स्पष्ट पार्नुभयो ।
टिप्पणीहरू