युद्ध नरोक्ने शर्तमा ट्रम्पसँग सम्बन्ध सुधारको पक्षमा जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू अमेरिकासँग सम्बन्ध सुधारको पक्षमा रहेको बताएका छन् । आइतबार लण्डनमा भएको युरोपेली मुलुकहरूको बैठकपछि उनले त्यस्तो बयान दिएका हुन् ।
शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पसँग झगडा गरेका जेलेन्स्की त्यतैबाट लण्डन पुगेका थिए । बेलायती प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी भएका उनले भनेका छन्, 'हामी खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौँ ।'
त्यसको बदलामा अमेरिकाबाट युक्रेनको सुरक्षा ग्यारेन्टी चाहेको उनले स्पष्ट पारे । जेलेन्स्कीले अमेरिकासँग सम्बन्धमा सुधार आउने विश्वाससमेत व्यक्त गरेका छन् । तर, रुससँग तत्काल युद्धविरामको माग भने उनले अस्वीकार गरेका छन् ।
सुरक्षा ग्यारेन्टीबिना युक्रेनले युद्धविराम नगर्ने अडान लिँदै जेलेन्स्कीले भने, 'यदि स्पष्ट सुरक्षा ग्यारेन्टीबिना युद्ध समाप्त भयो भने, यो सबैको लागि असफल हुनेछ । यदि त्यसो भयो भने, भ्लादिमिर पुटिनले फेरि आक्रमण गर्न सक्छ ।'
फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार जेलेन्स्कीले सन् २०१४ मा क्रिमियालाई गाभेपछि पूर्वी युक्रेनमा रुसले गरेको युद्धविरामको उदाहरण दिँदै सुरक्षाको ग्यारेन्टी नभए कसैले नियन्त्रण गर्न नसक्ने बताए । यस्तो अवस्थामा सेनाको सहयोगी संयन्त्र बिना लडाई रोक्न सहमत हुनु गलत हुने उनको बयान छ ।
'हाम्रो अवस्था कठिन छ, तर हामी लडाई रोक्न सक्दैनौं', उनले भनेका छन्, 'हामीलाई पुटिन भोलि नफर्किने ग्यारेन्टी चाहिन्छ ।' सुरक्षा ग्यारेन्टी बिनाको युद्धविराम युक्रेनको लागि खतरनाक साबित हुने जेलेन्स्कीले बताएका छन् ।
शुक्रबार खनिज सम्झौताकै लागि भनेर उनी ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका थिए । तर, रुस-युक्रेन युद्धलाई लिएर त्यहाँ उनको चर्काचर्की पर्यो । र, दुई देशबीच खनिज सम्झौता हुन सकेन ।
आफ्नो अमेरिका भ्रमणको उद्देश्य राष्ट्रपति ट्रम्पसँग शान्तिको बाटो खोज्नु रहेको स्पष्ट पारेका उनले त्यहाँ भएको तनावपूर्ण बहसपछि वातावरण बिथोलिएको बताए ।
'हामी तीन वर्षदेखि रुससँग लडिरहेका छौं । युक्रेनी जनताले थाहा पाउनुपर्छ कि अमेरिका हामीसँग छ । हामी शान्तिको पक्षमा छौं', जेलेन्स्कीले भनेका छन्, 'त्यसैले म अमेरिका गएँ र राष्ट्रपति ट्रम्पलाई भेटें । यो खनिज सम्झौता र शान्तितिर एक कदम हो । हामी यो सम्झौताको लागि तयार छौँ ।'
टिप्पणीहरू