सचिव नियुक्तिमा वरियता मिचिएको भन्दै स्वास्थ्यमा खैलाबैला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय विवादमा परेको छ ।
हिजो साँझ बसेको क्याविनेट बैठकले वरियताको पहिलो नम्बरमा रहेकी डा. संगीता कौशल मिश्रलाई पाखा लगाउँदै दोस्रो नम्बरका देवकोटालाई सचिव नियुक्त गरेको थियो । आफूभन्दा जुनियरलाई सचिव बनाएको भन्दै मिश्रले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेकी छन् ।
सरकारले मयार्दा र वरियताविपरित सचिव नियुक्त गरेको चिकित्सकहरुले पनि विरोध गरेका छन् । मधेसी र महिला भएकै कारण मिश्रमाथि अन्याय गरिएको आरोप छ ।
छात्रवृतिमा अमेरिका गएर पढेकी मिश्र कोशी अस्पतालको पूर्व मेडिकल सुपरिटेन्डेट हुन् । थापाथलीस्थित प्रसुति तथा महिला अस्पतालको निर्देशकसमेत रहिसकेकी उनले कोभिड महामारीको समयमा उल्लेखनीय काम गरेकी थिइन् ।
त्यतिबेला ज्वरो क्लिनिक, आइसोलेसन वार्ड, मास्क तथा स्यानिटाइजरको उत्पादनमा उनले अग्रणी भूमिका खेलेकी थिइन् ।
यो विवादले संसदमा समेत प्रवेश पाएको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेका हुन् ।
डा. मिश्र मधेसी समुदायकै भएको कारण मन्त्री पौडेलले विभेद गरेको उनको आरोप छ । नैतिकताको आधारमा मन्त्री पौडेलले पद छोड्नुपर्ने अमरेशको जिकिर छ ।
टिप्पणीहरू