कपडा पसलमा स्रोत नखुलेको २९ लाखमध्ये आधा भारु, बाँकी नेरु

कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको एउटा पसलबाट प्रहरीले स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँ बरामद गरेको छ । जितपुरस्थित केसी फेन्सी स्टोरमा भारतीय रुपैयाँ पाँच सयका एक हजार आठ सय थान अर्थात् नौ लाख र नेरु १४ लाख ५० हजार फेला परेको प्रहरीले जनाएको छ ।
उक्त पसलमा भारतीय नोटको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा उक्त मूल्य बराबरका भारतीय र नेपाली मुद्रा फेला परेको हो । रकमसँगै प्रहरीले अर्घाखाँची सन्धिखर्क नगरपालिका ५ का ३० वर्षे गोविन्द विक, कपिलवस्तुको मायादेवी गाउँपालिका ८ का ३८ वर्षे सोमनाथ कसौधन, कपिलवस्तु नगरपालिका ११ का ४२ वर्षे शेषनारायण गिरी र बुटवल उपमहानगरपालिका १६ का ४१ वर्षे वसन्त खरेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ ।
चारै जनालाई अहिले राजस्व अनुसन्धान कार्यालय रूपन्देहीमा पठाइएको छ ।
टिप्पणीहरू