ज्यान मार्ने उद्योगमा दोषी ठहर पूर्व मन्त्रीलाई कैद छुट

ज्यान मार्ने उद्योगमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले २० प्रतिशत कैद छुट पाउने भएका छन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले आज त्यस्तो आदेश गरेको हो । मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट माग गर्दै निवेदन दिएका थिए ।
सो ऐनमा अदालतबाट अन्तिम फैसला भएको ६० दिनभित्र आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । मागबमोजिम छुट पाएपछि मनाङेको कैद सजाय एक वर्ष घट्नेछ ।
चक्रे मिलनको हात छिन्ने गरी खुँडा हानेको पुरानो घटनामा सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो । फैसलाअघि नै २ वर्ष ८ महिना जेल बसिसकेका उनको बाँकी २ वर्ष ४ महिनामा पनि १ वर्ष कैद घटेको हो ।
टिप्पणीहरू