पूर्वराजा काठमाडौँ फर्किंदा ‘माग्ने राजा’ लाई फाइदा

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि एयरपोर्ट परिसरमा जम्मा भएका समर्थकहरुको भीडले आज दिनभर सडक अस्तव्यस्त बन्यो । आन्तरिक तथा बाह्य उडानका यात्रुलाई विमानस्थल पुग्नै हम्मे-हम्मे भयो भने, आफन्तको बिदाई तथा स्वागतका लागि गएकाहरुलाई मुख्य प्रवेशद्वार (गोल्डेन गेट)बाट भित्र छिर्नै दिइएन ।
राजवादी दल र विभिन्न समूहलाई आजको शक्ति प्रदर्शनबाट के प्राप्ति भयो, त्यो उनीहरुलाई नै थाहा होला । तर, चलचित्र ‘माग्ने राजा’लाई भने उत्पात फाइदा भएको छ ।
दुई सातादेखि विभिन्न स्थानमा छायाँकन भइरहेको उक्त चलचित्रका लागि निर्माण टिमले पूर्व राजाका लागि जम्मा भएको भीडको केही दृख्य खिचेको हो । राप्रपा, राप्रपा नेपाल, नागरिक बचाउ अभियानलगायत आयोजकसँग अनुमति लिएर एयरपोर्टदेखि चक्रपथसम्मकाे दृश्य खिचिएको निर्माण टिमले जनाएको छ ।
पूर्वराजालाई एयरपोर्टको मुख्य प्रवेशद्वार (गोल्डेन गेट)मा समर्थकहरुले गरेको स्वागतलाई दुई वटा ड्रोनबाट खिचेको बताइएको छ । त्यस्तै, गौशाला र चावाहिलका विभिन्न सडकखण्डमा पाँच वटा क्यामेराले दृश्य खिचिएको बुझिएको छ ।
वास्तवमा चलचित्रको लागि आवश्यक पर्ने दृश्य भएरै राजावादीहरुको प्रदर्शनको फाइदा उठाएको निर्माण टिम बताउँछ । नत्र यत्तिको भीड जम्मा गर्न असम्भव नै हुन्थ्यो भने सानोतिनो तयार गर्न पनि लाखौँ खर्च गर्नुपथ्र्यो । तर, चलचित्र निर्माताले सित्तैमा पूर्वराजाको स्वागत कार्यक्रमको फाइदा उठाएको हो ।
स्मरण रहोस्, ऋषि लामिछानेको निर्देशनमा निर्माण भइरहेकोमा ‘माग्ने राजा’मा केदारप्रसाद घिमिरे उर्फ माग्नेबुढा मुख्य भूमिकामा देखिदैँछन् । वर्षा शिवोकोटी, आर्यन सिग्देललगायतको पनि अभिनय रहने बताइएको छ ।
टिप्पणीहरू