प्रधानमन्त्रीको क्लिपमा कैँची चलेपछि ‘राजागंज’ माथि चुनौती

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले चलचित्र सेन्सर बोर्डलाई कटाक्ष गर्दै आज फेसबुकमा एउटा स्टाटस लेखे । ‘सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? डिसक्लेमर नबुझ्ने, फिक्सनको अर्थ नबुझ्ने, यस्तै हो चाहिने योग्यता ?’, उनको आक्रोश छ, ‘फिल्म जत्ति नै रियालिस्टिक भए पनि रियल हुँदैन, यो आर्ट मात्र हो, अनि त्यही आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् !’
पर्सी (शुक्रबार)बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राजागंज’लाई सेन्सर बोर्डले इजाजत नदिएकाे पृष्ठभूमिमा निश्चलकाे यस्तो प्रतिक्रिया आएको हो ।
यसै वर्षको भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर गरेर १५ मिनेट स्ट्यान्डिङ ओभेशन पाएको र अन्य फेस्टिभलमा समेत राम्रो प्रतिक्रिया पाएको ‘राजागंज’लाई बोर्डले नेपालमा चाहिँ किन प्रदर्शनको अनुमति नदिएको होला ? कारण खोज्दै जाँदा जोडिन्छन्, प्रधानमन्त्री केपी शर्मा ओली ।
वास्तवमा सेन्सर बोर्डले चलचित्रमा प्रयोग गरिएको प्रधानमन्त्री ओलीको पुरानो दृश्यमा आपत्ति जनाउँदै प्रदर्शनको अनुमति दिन अस्वीकार गरेको हो । बोर्डले आपति जनाएको भिडियो क्लिपमा ओलीले मधेशवादी दलहरुलाई ‘रुखमा कुहिएर झरेका आँप’को संज्ञा दिएका छन् ।
उक्त भिडियो नयाँ संविधान घाेषणा हुनुअघि ०७२ भदौतिरको हो । त्यतिबेला संविधान सभाबाट मधेशवादी दलहरु बाहिरिएपछि ओलीले भनेका थिए,‘रुखमा लटरम्म आँप फल्या छ, कुहिएका दुई तीन वटा आँप झर्यो भन्दैमा पुरै आँप नै खत्तम भयो भन्ने हुँदैन । संविधानसभा छोडेर जानेहरु पनि त्यस्तै हुन् । एमाले छ, कांग्रेस छ, एमाओवादी छ, राप्रपा छ, राजमो छ, धेरै छन् नि संविधान बनाएर अघि बढ्नुपर्छ भन्नेहरु ।’
मधेशको कथावस्तुमा तयार पारिएको ‘राजागंज’ मा पनि ओलीको सोही क्लिपलाई प्रयोग गरिएको छ, जसकारण सेन्सर बोर्डले आपत्ति जनाएको हो । प्रदर्शनको इजाजत लिन कार्यालयमै पुगेको निर्माण टिमलाई बोर्डले प्रधानमन्त्री ओलीको भाषणको क्लिप हटाएमा मात्र सेन्सर पास गर्ने बताएको छ ।
उता निर्माण टिमले भने ओलीको उक्त क्लिप हटाएमा चलचित्रको आशय र कथाकाे ‘फ्लो’ नै बिग्रने भन्दै वैकल्पिक उपायको खोजीमा रहेको बुझिएको छ । निर्माण टिमका एक सदस्य भन्छन्, ‘कथा बग्दै जाँदा आवश्यक परेर नै उहाँको क्लिप प्रयोग गरिएको हो, त्यो कुरालाई बोर्डले बुझ्नुपर्ने हो, त्यो क्लिप हटाउन मिल्दैन, हामी सहमति गरेर अघि बढ्छौ ।’
चलचित्रमा दयाहाङ राई, विजय बराल, रिचा शर्मा, पशुपति राई, निकिता चन्दक, आरती मण्डलजस्ता अब्बल कलाकारको अभिनय छ । दिपक रौनियारको लेखन तथा निर्देशन रहेको चलचित्रलाई बाँसुरी फिल्मस् ब्यानरले निर्माण गरेको हो ।
टिप्पणीहरू