"हिम्मतिली" अन्तर्राष्ट्रिय महिलालाई अस्पतालबाटै छोड्ने तयारी

ठगीको आरोपमा पक्राउ परेकी एक उद्योगीलाई सट्याकसुटुक छोड्ने तयारी भएको पाइएको छ । प्रहरी नियन्त्रणमै अस्पतालमा बस्ने छुट सुविधा पाएकी कल्पना गैरेलाई हाजिरी जमानीमा छोड्न चलखेल भइरहेको बुझिएको छ । पाल्पाको बगनासकाली गाउँपालिका १ घर भई कैलालीको धनगढी उपमहानगरपालिका–१, बस्ने ३९ वर्षीया गैरेविरुद्ध काठमाडौं जिल्ला अदालतले फागुन १५ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
उनीमाथि जबरजस्ती चोरी,ठगी र अपराधिक लाभ लिएको आरोप छ । झण्डै एक साताअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई तीनकुनेस्थित गैरीगाऊँबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाइयो । परिसरको जिम्मामा भएदेखि नै अस्पतालमा छिन् ।
उनलाई अस्पताल बस्न छुट सुविधा दिएपछि प्रहरीको चर्को विरोध भइरहेको छ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा रहेकी उनलाई छुटाउनका लागि जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौं लागिपरेको आरोप छ । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म ठगीको सञ्जाल फैलाएको आरोप उनैमाथि छ ।
‘करोडौं ठग्ने महिलालाई हाजिरी जमानीमा छोड्न लागिएको छ । पहिले पनि प्रहरी हिरासतमा राखिएन ।भिआइपीजसरी अस्पतालमा बस्ने छुट सुविधा दियो । अहिले त छोड्ने नै तयारी भएको छ’,स्रोतले भन्यो ।
यता, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले उनी परिसरको हिरासतमा रहेको बताए । अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए । ‘उहाँ हाम्रै हिरासतमा हुनुहुन्छ । उहाँविरुद्ध मुद्दा चलिरहेको छ । काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं’,उनले भने ।
गैरे उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत रहिसकेकी छिन् । उनले कैलालीको अत्तरिया र धनगढीमा ‘धर्मरुद्र’ अस्पताल सञ्चालन गर्दै आएकी थिइन् । हाल सो अस्पताल बन्द रहेको बुझिएको छ । उनले केही समयअघि कुटाइ पनि खाएकी थिइन् ।
टिप्पणीहरू