मुटुरोगीलाई बचाउन भरतपुरमा क्याथ ल्याबको तयारी

समयक्रम सँगै विकास–विस्तार गर्दै उच्चस्तरीय एवम् विशिष्टीकृत सेवाहरु थप्दै लगिएको भरतपुर अस्पतालमा अब छिट्टै क्याथ ल्याब सञ्चालन हुने जानकारी गराइएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार आमागी चैत २५ गते अस्पतालको ६९ औं वार्षिकोत्सवका अवसरमा यसको उद्घाटन गर्ने तयारी छ । क्याथ ल्याबमार्फत् मुटुको एन्जिओग्राम, एन्जिओप्लास्टी एवम् हर्टअट्याकको क्लोज अप्रेसन गरिने जानकारी उनले गराए ।
‘अहिले हामीले औषधिले मात्र उपचार गर्ने गरेका थियौं अथवा रिफर गर्नुपथ्र्याे’, अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले मुटु रोगीको उपचारका लागि क्याथ ल्याब एउटा नयाँ फड्को हुने बताए । यसैगरी, निकट भविष्यमै निसन्तान दम्पतीका लागि आईयुआई सेवा पनि भरतपुर अस्पतालमा सञ्चालनमा ल्याउन लागिएको उनले बताएका छन् ।
पुरुषको वीर्य प्रशस्त मात्रामा नभएर प्रजनन्मा समस्या भइरहेको छ भने शुक्रकीटको गुणस्तर र संख्या कम भएको अवस्थामा आईयुआई प्रविधिमार्फत् त्यसलाई छानेर बलियो र गुणस्तरीय बनाई महिलाको पाठेघरमा राखिन्छ । साथै, महिलाको पाठेघरमा समस्या छ भनेपनि यो विधिबाट उपचार हुनसक्ने प्रवक्ता बताउँछन् । महिलाको पाठेघरको मुखमा खराबी छ भने त्यसले पुरुषको वीर्य महिलाको पाठेघरको मुखमा पुग्ने बित्तिकै मारिदिन्छ । आईयुआई प्रविधिबाट त्यस्ता महिलाको पाठेघरको मुखमा क्रस गरी जिउँदो शुक्रकीट भित्र पठाउन सकिने उनले बताए ।
भरतपुर अस्पतालको आफ्नै रक्तसञ्चार केन्द्रमामार्फत् रगतको अभाव भएका बिरामीलाई पछिल्लो समय निःशुल्क रुपमा होलब्लड दिँदै आएको अवस्थामा अब रगतका विभिन्न कम्पोनेन्टहरु छुट्याएर बिरामीलाई जे आवश्यक छ, त्यो मात्रै दिने गरी व्यवस्था मिलाउन लागिएको पनि जनाइएको छ । रक्तसञ्चार केन्द्रका इन्चार्ज विष्णुप्रसाद बास्तोलाले भने, ‘केही दिन भित्रमै हामी आरबिसी, प्लेटलेट्स र प्लाज्माको सेवा सुरु गर्दैछौं ।’
भरतपुर अस्पतालमा अबको केही महिनामा ट्रमा सेन्टर पनि सञ्चालन हुने बताइएको छ, जुन नेपालमा सरकारीस्तरको दोस्रो ट्रमा सेन्टर हुने मेसु बताउँछन् । वि.सं. २०१३ मा राप्ती दून उपत्यका विकास समिति अन्तर्गत हेल्थ पोष्टको रुपमा स्थापना भई वि.सं.२०२० मा राजा महेन्द्रबाट उद्घाटन भएपश्चात् महेन्द्र आदर्श चिकित्सालयको नाममा १५ शय्याबाट प्रारम्भ भएको यो अस्पताल विभिन्न चरणहरु पार गर्दै अहिले ६०० शय्याको क्षमतामा सञ्चालन भइरहेको छ । यस भरतपुर अस्पतालमा विभिन्न जिल्लाबाट अहिले दैनिक दुई हजारको हाराहारीमा बिरामीहरु उपचार सेवाका लागि आउने गरेको बताइन्छ ।
अहिलेको डिजिटलाइजेसनको युगमा बिरामीको रिपोर्टका लागि लाइन लागेर, हार्डकपी कुरेर बस्नुपर्ने अवस्थाको अन्त्यका लागि पनि भरतपुर अस्पतालमा बन्दोबस्त भइरहेको छ । ‘ल्याब रिपोर्टको लागि भेन्डिङ मेसिन सुरु गरिसक्या छौं’, मेसुले भने, ‘ल्याबको पैसा तिरेको बिलमा क्युआर कोड हुन्छ । मेसिनमा भएको स्क्यानरमा उक्त क्युआर कोडलाई सुँघायो भने त्यसले रिपोर्ट फाल्छ । प्रिन्टकपी नै त्यसले निकालिदिन्छ ।’ योसँगै घरमै बसेर पनि स्मार्टफोनमा क्युआर कोड स्क्यान गरी मोबाइलमै रिपोर्ट हेर्न सकिने भएको उनले बताए । तर ओपिडी अगाडि राखिएको उक्त मेसिन केही दिनयता भने बन्द छ । कार्टिज सकिएकोले अहिले बन्द भएको र नयाँ कार्टिज ल्याएर पुनः सञ्चालन गर्न अस्पताल लागिपरेको बताइएको छ ।
यस्तै, सिटी स्क्यान र एमआरआईका रिपोर्टहरु पनि बिरामीको मोबाइलमा ह्वाट्सअप नम्बर छ भने आफूहरुले त्यसमै पठाइदिने गरिरहेको मेडिकल सुपरिन्टेन्डेन्टले बताएका छन् । अब छिट्टै एक्सरेको रिपोर्ट पनि बिरामीले मोबाइलमै पाउनसक्ने गरी व्यवस्था मिलाउन लागिएको अस्पताल प्रशासनले जनाएको छ ।
टिप्पणीहरू