गौतममाथि सचिवको करौंती

गौतममाथि सचिवको करौंती
सुन्नुहोस्

आफ्नै हाकिम दाहिना नभएपछि परराष्ट्र मन्त्रालयको विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका उपसचिव लेखनाथ गौतम तत्काललाई पछि परेका छन् । अघिल्ला सचिव भरत पौडेलले कार्यसम्पादन मूल्याङ्कन (कासमू) फाराममा उनलाई कम अंक दिएपछि उनी यही लटमा सहसचिव हुने अवसरबाट वञ्चित भएका हुन् ।

७५ देखि ९५ अंक दिएको अवस्थामा सामान्यतया कारण खुलाउनु नपरे पनि ७५ भन्दा घटी वा ९५ भन्दा बढी दिँदा भने केही न केही लेख्नैपर्ने हुन्छ । सचिवले राजदूतको जिम्मेवारी सम्हाल्न क्यानाडा जानुअगाडि कम अंक दिएको अहिले आएर खुलेको छ । यसैकारण करिब एक दर्जनको बढुवा हुँदा पनि उनी त्यसभित्र अटाउन सकेनन् । त्यसो त, यसपटक बढुवा रोकिए पनि गौतम आउँदो पटक उक्लन्छन् नै । तीन वर्षपछि गौतमले जागिरे जीवनबाट बिदा लिनेछन् । थप सहसचिवको दरबन्दी क्यालिफोर्निया, डल्लास, जेद्दा, दुबईलगायत ५ कन्सुलेट कार्यालय र ६ जनाको मन्त्रालयमा भएको छ । 

अहिले गौतम कन्सुलर सेवा विभागमा छन् । यसअघि नायव शिष्टाचार महापाल (डेपुटी चिफ अफ प्रोटोकल) र थाइल्याण्डमा गणेश ढकाल राजदूत हुँदा बैंककस्थित दूतावासमा कार्यरत थिए । नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा उनको पिए (निजी सहायक) रहेका थिए । एमाले पृष्ठभूमिका गौतमलाई अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली २०६२/६३ मा परराष्ट्रमन्त्री हुँदा वासिङ्गटनको कन्सुलेट कार्यालयबाट बीचैमा तानेर कोलम्बो लगिएका थिए । त्यसपछि उनी विस्तारै माओवादी केन्द्रनिकट हुन पुगेको बताइन्छ । गौतमको घर मोरङ हो । नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाको ज्वाइँ नाता पर्छन् । 
 

टिप्पणीहरू