हतियार हराउने कर्णेलहरू दिनदिनै हिरासतमा

हतियार हराउने कर्णेलहरू दिनदिनै हिरासतमा

सिरियामा शान्ति स्थापना गर्ने क्रममा हतियार गुमाएवापत युएनको विमान अवतरण गर्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका तल्लो दर्जाका केही सैनिक हिरासतमुक्त भएका छन् भने ४१ बेसिकका मेजर खगेन्द्र न्यौपानेसहित हाकिमहरूलाईचाहिँँ नेपाल टेक्नेबित्तिकै धमाधम पक्रेर केरकार गर्ने क्रम जारी छ । स्रोतका अनुसार, यसवीच तल्लो दर्जाका झण्डै दुई दर्जन सैनिक छुटेका छन् । उनीहरू छुटे पनि माथिल्लो दर्जाका अधिकृत ७–८ जनालाई भने सजिलै उन्मुक्ति मिल्ने सम्भावना छैन । 

स्रोत भन्छ, ‘तलकालाई केही दिनअघि छोडिएको छ । तल्लो दर्जाका छुटे पनि माथिल्लो दर्जाका अधिकृत भने थुनामै हुनुहुन्छ ।’ सिरियामा तैनाथ नेपाली सेनाको एक पोष्टमा गत मंसिर २२ गते साँझ विद्रोही समूहले आक्रमण गरी हतियार लुटेको थियो । त्यसमा ४८ थान अत्याधुनिक हतियार र ११ हजार थान गोली परेको थियो । 

चैत १६ र २२ गते स्वदेश ओर्लिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका क्याप्टेन आर्याजुन श्रेष्ठ र महेन्द्र दलको गणपतिसमेत रहेका प्रमुख सेनानी दिनेशकुमार खड्कासहितलाई छुट्टाछुट्टै ब्यारेकमा थुनिएको छ । शान्ति स्थापनार्थ खटिएर अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएको नेपाली सेनाको प्रतिष्ठामाथि आँच पुर्‍याउने काम गरेको निश्कर्ष निकाल्दै नियन्त्रणमा लिइएका उनीहरूमाथि एक तह माथिका हाकिमको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरी अनुसन्धान अघि बढाउन लागिएको छ । 

‘उहाँहरूमाथि छानबिन गर्न समिति गठन गर्न लागिएको बुझिएको छ । केही दिनमै समिति बन्छ होला’, स्रोतले भन्यो । यता, मध्य अफ्रिकी गणतन्त्र (कार) मा पनि हतियार लुटिएको छ । शान्ति स्थापनार्थ खटिएको टोलीको लापरवाहीका कारण सेनाले हतियार गुमाएको हो । अफिसर खटिनुपर्नेमा जमदार खटाउँदा हतियार लुटिएको स्रोत बताउँछ । अनिल थारुको टोलीबाट विद्रोही समूहले गत चैत १५ गते हतियार लुटेर लगेको थियो । सो हतियार अहिलेसम्म पनि प्राप्त नभएको बुझिएको छ । नेपाली सेनाले शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको मागअनुसार विभिन्न मुलुकमा टोली खटाउने गरेको छ । 

हरेक वर्ष शान्ति सेनाको डफ्फा परिवर्तन हुन्छ । त्यसरी खटिएका सैनिकले विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ । जस्तोसुकै परिस्थिति भए पनि उनीहरूले राष्ट्रसंघको निर्देशनबिना गोली चलाउन पाउँदैनन् । आत्मरक्षाका लागि गोली चलाउनसमेत युएनको निर्देशन कुर्नुपर्ने बाध्यता छ ।

जसका कारण विद्रोही समूहले सहजै हतियार लुट्ने गरेको छ । सैनिक जनसम्पर्क निर्देशक गौरवकुमार केसीले सिरिया मिसनबाट फर्किएका केही सैनिक निगरानीमा रहेको जानकारी दिए । ‘केही सैनिकलाई अनुसन्धानका लागि निगरानीमा राखेका छौं । उहाँहरूसँग सोधपुछ भइरहेको छ । सिरियामा हतियार फिर्ता भइसकेको छ, कारमा पनि हतियार फर्काउने पहल जारी छ’, उनले भने । 

टिप्पणीहरू