प्रधानमन्त्रीलाई ‘लाज मान्न’ पूर्व मन्त्रीको सुझाव
पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अजब सत्ताको गजब प्रधानमन्त्री’ भन्दै कटाक्ष गरेका छन् । शिक्षक र प्रहरीबीच आज दिउँसोको झडपपछि परिस्थिति थप जटिल बनेको भन्दै उनले प्रधानमन्त्रीलाई ‘लाज मान्न’ आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले दिउँसो मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै शिक्षकलाई विपक्षीले उचालेको टिप्पणी गर्नुभएको थियो । सोही सन्दर्भमा सांसद पौडेलले संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वाहियात तर्क नगर्न सुझाव दिएका हुन् ।
‘२७ हजार विद्यालयका शिक्षकहरु सडकमा छन्, के उनी प्रचण्डको खल्तीका हुन् ?’, पौडेलले सोधे, ‘शिक्षा ऐन मागेका त हुन्, आफ्नो समस्या सम्बोधन गरिदिनुपर्यो त भनेका हुन्, अनि उनीहरुलाई कुनै दलसँग जोडेर वाहियात तर्क गर्न पाईन्छ ? प्रधानमन्त्रीले लाज मान्नुपर्दैन ?’
माओवादी केन्द्रको सचिवसमेत रहेका उनले आन्दोलनमा प्रधानमन्त्रीकै पार्टीका शिक्षकहरुसमेत सामेल भएको स्मरण गराए । ‘शिक्षक आन्दोलनको अग्रपंक्तिमा उहाँ (ओली)कै पार्टीका शिक्षकहरु हुनुहुन्छ, यो कुरालाई प्रधानमन्त्रीले आत्मसमीक्षा गर्नुपर्दैन ? आफ्नै शिक्षकहरुले पार्टीविरुद्ध अभियान चलाए भने के हुन्छ ?’, उनले सचेत गराए ।
शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरुलाई निरुत्साहित गर्न सरकारले बल प्रयोग गरेको पौडेलको विश्लेषण छ । ‘माग पूरा हुन नसक्दा हजारौँ शिक्षकहरु आक्रोशित छन्, त्यो स्वाभाविक हो । यस्तो अवस्थामा सरकारले संवेदनशील भनेर माग सम्बोधनको सुनिश्चितता गर्नुपर्नेमा उल्टै बल प्रयोग गरेर उनीहरुको आवाजलाई दबाउन खोज्यो, यो खेदजनक छ’, उनले थपे ।
दिउँसो प्रहरीसँगको झडपमा एक महिला पत्रकारसहित २६ जना शिक्षक घाइते भएको बताइएको छ ।
टिप्पणीहरू