सगरमाथा क्षेत्रमा व्यवसायिक उडानमा रोक, अन्यथा कारबाहीको चेतावनी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा तोकिएको शर्तबाहेक अन्य अवस्थामा हेलिकप्टर उडान गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । सगरमाथा क्षेत्रमा व्यवसायिक हेलिकप्टर उडान पूर्ण रुपमा रोक लगाइएपनि कतिपयले सञ्चालन गरिरहेको पाइएपछि गाउँपालिकाले यस्तो चेतावनी दिएको छ ।
पालिकाले तोकिएको शर्तबाहेक अन्य अवस्थामा कुनै पनि व्यवसायिक हेलिकप्टर उडान गरिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार व्यवसायी वा प्याकेज खरिद गर्ने पर्यटक स्वयम् हुनुपर्ने बताएको छ ।
आज सार्वजनिक सूचनामा भनिएको छ, ‘केही हेलिकप्टर व्यवसायी तथा ट्रेकिङ व्यवसायीहरुद्धारा व्यवसायिक हेलिकप्टर उडान सञ्चालन भइरहेको देखिएकोले अब उपरान्त यस सूचनाको उल्लंघन गरी तोकिएको शर्तबाहेक अन्य कुनै पनि व्यवसायिक हेलिकप्टर उडान गरेमा त्यसबाट सिर्जना हुनसक्ने सबै परिस्थितिको जिम्मेवारी सम्बन्धित हेलिकप्टर व्यवसायी प्याकेज बेच्ने पर्यटक व्यवसायी तथा प्याकेज खरिद गर्ने पर्यटक स्वयमले बेहोनुपर्नेछ ।’
पालिका क्षेत्रभित्र अव्यवस्थित हेलिकप्टर उडान नियन्त्रण गर्न गाउँपालिकाले हेलिकप्टर उडानका निम्ति यसअघि नै विभिन्न शर्तहरु तोकेको थियो । जसअनुसार रेस्क्यू, कार्गो र माउन्टेन फ्लाइट मात्र गर्न पाइन्छ ।
उडानस्थलमा रहेको स्वास्थ्य संस्थाबाट सिफारिसप्राप्त भई अन्यन्त्र होल्ड नगरी सिधै स्वास्थ्य संस्थामै लैजानुपर्ने गर्ने गरिने वास्तविक रेस्क्यू उडानलाई मात्र अनुमति दिइने गाउँपालिकाको भनाइ छ ।
यस्तै, कार्गो फ्लाइटअन्तर्गत पर्वतारोहीका सामान लिएर आएको हेलिकप्टरलाई पाङबोचेसम्म मात्र र अनुमति लिएर अन्य उडान गर्न पाइने तथा चार हजार तीन सय मिटरभन्दा कम उचाईमा ‘वान टच’ मात्र अवतरण गर्ने गरी सञ्चालन हुने माउन्टेन फ्लाइटलाई अनुमति दिइन्छ ।
टिप्पणीहरू