एमालेलाई कार्यालय मिलाउने मारवाडीले...

‘गाई मारेर गधा पोस्ने धन्दा’मा बिचौलिया त सक्रिय थिए नै, मन्त्रीहरूसमेत त्यसतर्फ अग्रसर भएको पाइएको छ । वार्षिक २ अर्बभन्दा बढीको कारोवारमा एक जना मारवाडी व्यापारीको आँखा लागेको चार वर्षदेखि नै हो । आफू उद्योग राज्यमन्त्री र प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुँदा नसकेको काम तमाम पार्न उद्यत पात्र हुन्, एमाले उद्योग वाणिज्य समिति संयोजक । उनले मन्त्री दामोदर भण्डारीमार्फत आफ्नो काम तमाम पार्ने गरी प्रस्ताव उठाइसकेका छन् ।
यसरी नुनको कारोवारमा जोडिन लागेका व्यवसायी हुन् राजस्थानी मोतिलाल दुगड । उनैलाई नुनको कारोवार दिलाउने प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । यसअघि केपी ओलीकै सरकारमा लेखराज भट्ट उद्योगमन्त्री र दुगड राज्यमन्त्री हुँदा ०७७ सालमा प्रेमलाल महर्जनले अख्तियारदेखि मन्त्रीपरिषद्सम्म उजुर हालेर यो काम रोकिएको थियो । यसको संकेत आयोडिनयुक्त नुनसम्बन्धी ऐन जारी भएको २७ वर्षपछि कार्यान्वयनमा ल्याइनु हो । गत वैशाख २ गतेको मन्त्रिपरिषद बैठकले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ अघि बढाउने निर्णय गरेको छ ।
०५५ साल माघ १ मा जारी भएको ऐन २७ वर्षपछि कार्यन्वयनमा लैजानुको पछाडि अरु कारण हुनै सक्दैन भन्छन् जानकारहरू । पछिल्लो क्याबिनेट बैठकले ०८२ साउन १ गतेबाट ऐन लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने भनेको छ । योसँगै आयो नुनको एकाधिकार तोडिने उद्योग मन्त्रालयका अधिकारीहरू बताउँछन् । अहिले यस्तो नुनको खुद्रा बजारमूल्य २६ रूपैयाँ छ । वार्षिक २ अर्बको कारोवार हुँदै आएकोमा सरकारी स्वामित्वको साल्ट ट्रेडिङ्गको एकाधिकार भंग गर्दा खुला बजारमा मूल्य ५० पुग्छ । नेपालभन्दा अत्यन्त गुणस्तर कम भएको आयोनुन प्रतिप्याकेट ५२ मा बिक्री वितरण भइरहेको छ । अहिले नेपालीले उपयोग गर्दै आएको आयो नुनलाई दक्षिण एशियाकै गुणस्तरीय मानिन्छ ।
हालै अघि बढाइएको प्रस्तावमा ‘आयोडिनयुक्त नुन आपूर्ति सर्वसुलभ, गुणस्तरीय एवं न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाइनेछ’ भन्ने बुँदा हालिएको छ । उपभोक्तावादीले गत चैत्र दोश्रो साता संसदीय उपभोक्ता समितिका सभापति अब्दुल खानलाई भेटेर यसबारे ज्ञापनपत्र बुझाएको भए तापनि सभापतिले अहिलेसम्म बैठक डाक्न सकेका छैनन् । दुगड कुनै समय सद्भावना पार्टीबाट राजनीतिमा लागेका हुन् । श्यामसुन्दर गुप्तासँग विवाद भएपछि सद्भावना फुटाएर नवनेपाल पार्टी बनाई जनमतसमेत बचाउन नसकेका उनै दुगड पछिल्लो समय कोमल ओली र दुर्गा प्रसाइँ झैं असली कमरेडमात्र बनेनन्, यसअघि थापाथलीमा एमालेलाई पार्टी मुख्यालय मिलाइदिने हर्ताकर्ता पनि उनै थिए । २ अर्बको नुनमा हात हाल्न लागेका उनको कम्पनी एसिया केमिकल विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ आयकर नतिरेको भन्दै कालोसूचीमा परेको छ ।
टिप्पणीहरू