अखिल किन लाग्न थाल्यो ओरालो ?

गत पुसमा नेपाल प्रहरीले पूर्व अखिल अध्यक्ष किशोरविक्रम मल्ललाई चेक अनादर मुद्दामा पक्राउ गरी ३ दिनसम्म हिरासतमा राखेको थियो । मल्लले छुट्नका लागि अर्की पूर्व अध्यक्ष नवीना लामालगायतसँग २० लाख ५० हजार सापटी लिएका थिए । उनलाई छुटाउन धर्म गिरी, सुदर्शन शिवाकोटीलगायत लागेका थिए । त्यो सापटी त तिर्नुपर्यो । तर, नियमित आम्दानीको स्रोत छैन । एउटासँग माग्ने, अर्कोलाई तिरेर पैसा घुमाउने ।
एक दिन डा. सुजन कडेरियालाई बोलाएर भने, ‘भाइ, अस्ति मेरो केस पर्दा अलिअलि तिर्न बाँकी थियो, तिमीसँग अलिअलि पैसा भए देऊ न, हिसाबकिताब मिलाएर गरौँला ।’ उनले तत्कालै भने ‘हुन्छ दाइ, मेरो घरमा जाऊँ त्यहीँ बसेर सल्लाह गरौंला नि !’ घरमा लोकल खसीको मासु, चिकेन रोस्टसहित स्वागत गरे । तर, स्वास्थ्यको कारण देखाउँदै किशोरले खसी खाएनन् । बाबु (कमल कडरिया) ले अहिले कति आवश्यक हो ? भनेर सोधे । किशोरले ४ जति भनेपछि कमल कडरियाले ४ खुरुक्कै दिए ।
भुत्ला–भुत्ली काण्ड
‘गोसाइँकुण्ड काण्डबारे पनि दोभानस्थित बर्गर हाउसमा घरिघरि चर्चा चलिरहन्छ । लगभग २/३ महिनाअघिको घटना हो, दुबैजना चल्तापुर्जा । त्यो पनि भ्यालीमै आधारभूमि बनाएका । एउटै पुरुष (अखिल नेता)को नाम लिएर झगडा नै गरे । पुरुषले छुट्याउन अप्ठ्यारो भएपछि बर्गर हाउसका महिला स्टाफले बल्ल–तल्ल छुट्याए । एक केन्द्रीय सदस्यको त १ पटक घरबार बिग्रेकोसमेत अखिल वृत्तमा बेला–बेला चर्चा हुने गर्छ । तिनको मूल थलोचाहिँ कोशी प्रदेश हो । अर्की बागमतीकी । अहिले बेलामौकामा दुबैजना सँगै हिँड्छन्, मानाैँ केही दुश्मनी नै थिएन ।
पाटनमा किन सोत्तर भयो एमाले अखिल ?
पाटन क्याम्पसमा एमाले अखिलले पानी समेत पिउन पाएन । चैत ५ गते निर्वाचन हुन नसकेपछि पटक–पटक स्थगन भएको चैत १६ गते ११९ मत खसालेपछि पुनः स्थगन भएर वैशाख २० गते निर्वाचन बल्ल सम्पन्न भएको ललितपुरको एक मात्र ठूलो सरकारी क्याम्पस पाटन संयुक्तमा नेविसंघले कब्जा जमाएको छ । अखिलका तिलक कुमालले ३६५ मत ल्याउँदा नेविसंघका रोहित कपालीले झण्डै तेब्बर मत ९०६ मत पाएका छन् । अखिलकै माधव पौडेल (भाञ्जा) ले सदस्यमा विजय भएर इज्जत धानेका छन् । पाटन ढोकास्थित होटल अतिथिमा बसेर कफी पिउँदै अन्धाधुन्द विद्यार्थीलाई कल गरी भोट हाल्न अनुरोध गरेको अखिलको मिहिनेत खेर गएको छ । ३ दशकअघिको जस्तै अवस्था सम्झँदै होटलको कुनामा बसिरहेका रूपनारायण श्रेष्ठ, अखिलका अध्यक्ष, उपाध्यक्ष अन्य पदाधिकारी र मतदाताभन्दा बढी केन्द्रीय सदस्य यताउता गरिरहेका थिए ।
भोट हाल्न आउन फोन गर्नेमा पीकेकी विनिता काफ्ले, शोभा सापकोटा (थापा), आरआरमा निर्वाचन हुन नसकेपछि छरिएका मदन भण्डारी, उज्ज्वल न्यौपाने र त्रिचन्द्र गोबिन्द थपलियाहरू थिए । ‘अखिल केन्द्रले झण्डै १० लाख खर्च गर्दा २६० मत पाउनु नै उपलब्धी भयो’, एक पदाधिकारीले ब्याङ्ग्य मिश्रित आक्रोश पोखिरहेका थिए । समानुपातिकमा नेविसंघले ७०१, अखिलले २६० र क्रान्तिकारीले २२० मत पाए ।
अखिल नेताको फेसबुक पेज सुनसान
पाटन क्याम्पस मतदान सकिएर गणना हुनुअघिसम्म पनि अखिलका नेता जित्ने आकलन गरिरहेका थिए । छिनछिनमा फेसबुक अपडेट भैरहेकोमा जब मत परिणाम सार्वजनिक हुन थाल्यो त्यसपछि उत्साह सबै शीताङ्ग । निर्वाचन हो, हारजित भैरहन्छ । तर, २०६५ मासानदार जितेको, २०७९ मा अध्यक्षबाहेक बहुमत जितेको ठाउँमा, यसपटक लगभग तेब्बर मतले हार्नु सामान्य कुरा हुनै सक्दैन होइन ।
गत निर्वाचनमा २०६५ का सभापति झापिन्द्र खत्रीलगायतले सुरेश जिसीलाई हराएको चर्चा थियो । चैत १६ गते खसेको ११९ मतसमेत गन्न तयार हुनु र निर्वाचनको अघिल्लो दिन नयाँ मतदाता २०० जना थप्न तयार हुनुलाई हारको प्रमुख कारण मान्ने जनवर्गीय संगठन इञ्चार्ज भानुभक्त ढकालहरु भन्छन् ।
तिलक कुमाल आफैं अदालत गएर तत्काल निर्वाचन गराउन आदेश लिएर किन आउनु परेको होला ? रुपनारायण श्रेष्ठलाई भने अध्यक्ष र सचिव एक अर्कालाई हराउन हात धोएर लागेको महसुस भएको छ । तिलक कुमालको कोठामा उनीसहित नेविसंघ र क्रान्तिकारीको मिश्रित चिट भेटिएको, निर्वाचनकै दिन अध्यक्ष र सचिवको फरक–फरक चिट बाँडिएको, एमाले जिल्ला अध्यक्ष तथा २०६२ सालका स्ववियु सभापतिमा पराजित पुरुषोत्तम आचार्यले अनावश्यक चलखेल गरेको, लबीममल, भाटभटेनी जस्ता ठूला ब्यापारिक केन्द्रहरू, क्याम्पसकै जग्गामा हुनुका अलावा पाटनढोकाका सटरबाट हुने नियमित आम्दानीमा व्यक्तिको रुचिको समेत भूमिका रहेको भन्नेहरु पनि छन् । अखिलका एक पूर्व नेताका अनुसार, ‘पाटनमा एक थरी रैथाने छन्, उमेर ४० कटिसकेको छ, तर उनीहरूको काम जसले गर्छ, उसैलाई जिताउन जे पनि गर्ने प्रवृत्ति पनि यसमा जिम्मेवार छ । क्याम्पस कमिटीको बैठक नबसेको १९ महिना भइसकेको छ ।’ यसैबीच पुरानो मिति (२०८१।११।२६) राखेर अखिल केन्द्रले नेविसंघबाट सचिवमा पराजित नितिन पाण्डेलाई क्याम्पस कमिटीको अध्यक्ष बनाएको पत्र सार्वजनिक भएको छ ।
वैशाख १७ गते बेलुकापख आरआर क्याम्पस, स्ववियु निर्वाचन समिति २०८१ ले अध्यक्ष अनेरास्ववियु, उपाध्यक्ष अखिल क्रान्तिकारी, सचिव नेविसंघ र सहसचिव आर.आर. युथ फोर्स, कोषाध्यक्ष अनेरास्ववियु (एस), सदस्यहरू अनेरास्ववियु ४, नेविसंघ ४, अखिल क्रान्तिकारी ३, अन्य संगठनलाई ४ जना दिएर बाँडफाँड गरेको छ । स्ववियुको सर्वसम्मत चयनप्रति असन्तुष्टि जनाउँदै सोमबार नेविसंघको असन्तुष्ट पक्षले क्याम्पस प्रशासनमा तोडफोड गरेको छ ।
टिप्पणीहरू