डेढ महिनाअघि जिम्मेवारी सम्हालेका सिडिओका केही सुझाव, केही दाबी

सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा सामाजिक जागरण अभियान आवश्यक रहेको बताएका छन् । शान्तिसुरक्षाका दृष्टिले मात्रै होइन सामाजिक विकृति÷विसङ्गतीमा मधेशका आठ जिल्लामध्ये सिरहालाई अति संवेदनशील मानिन्छ ।
डेढ महिनाअघि सिरहामा हाजिर भएका सिडियो अर्यालले समाज अझै पनि परम्परागत मानसिकतामा जकडिँदा सामाजिक न्याय प्रभावित बन्ने गरेकाले सामाजिक जागरण अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने बताए । उनले न्यायिक समितिप्रति विश्वास स्थापित हुन नसक्दा पनि सामाजिक न्याय प्रभावित हुन पुगेको औँल्याए ।
सिरहामा १७ पालिका छन् । ती पालिकाका न्यायिक समिति प्रायः निष्कृय देखिन्छन् । ‘नागरिकमा न्यायिक समितिले तटस्थ भएर न्याय सम्पादन गर्न सक्दैन भन्ने परेको छ ’ अर्याल भन्छन्, ‘न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे जानकारी नहुँदा पनि पिडीतहरू अझै प्रहरी प्रशासनको सहारा र्लिरहेका छन् ।’
अर्यालले सामाजमा जरा गाडेको विकृति विरूद्व सामूहिक रूपमा जागरण अभियान चलाउन समाजका सबै तप्काको ध्यानाकर्षण गराए । भन्छन्, ‘सबै पालिकाहरूले स्थानीय नागरिक समाज, क्लब, समूह, विद्यालय, राजनीतिक दल, व्यापारी, बुद्विजिवी , प्रहरीप्रशासन लगायत समाजका सबै तप्काले सामूहिक रूपमा नागरिक जागरण अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ ।’
व्यवस्था परिवर्तनसँगै समाज रूपान्तरण हुन नसक्दा सिरहामा सामाजिक विभेदका घटनामा कमी नआएको निष्कर्षमा आफू पुगेको भन्दै स्थानीय तहहरूसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सामाजिक जागरण अभियान थालेको जानकारी दिए ।
लहान, धनगडीमाई, गोलबजार र कर्जन्हा गरी चारओटा नगरपालिकामा अभियान सञ्चालन गरिसकिएको जानकारी दिए ।
लागुऔषध झन् ठूलो समस्या
सिरहा जिल्लामा लागुऔषधको समस्या विकराल बन्दै गएको पनि उनको ठम्याइ छ । लागुऔषध नियन्त्रणका लागि सामूहिक पहलको आवश्यकता रहेकोमा जोड दिएका छन् । स्थानीय तहले कम्तिमा सबै विद्यालयमा लागुऔषधविरूद्व जनचेतनामूलक कार्यक्रम चलाउन सुझाव दिएका छन् ।
दक्षिणी सिमावर्ती क्षेत्रमा हुने अपराध र चोरीनिकासी नियन्त्रण गर्न प्रशासन प्रतिबद्ध रहेको दाबी गरे ।
टिप्पणीहरू